विवाहको केही महिनामै सम्बन्धविच्छेदको तयारीमा अरुणिमा


काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले श्रीमान् युवराज श्रेष्ठविरुद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । केही दिनअघि मात्र अमेरिका बसोबास गर्दै आएकी लम्साल नेपाल आएकी थिइन् । सार्वजनिक रूपमा उनी अभिनीत चलचित्र ‘घर: बट इन अमेरिका’ को प्रचारप्रसारका लागि नेपाल आएकी बताइए पनि वास्तवमा डिभोर्सको कानुनी प्रक्रिया अघि बढाउन आएको खुलेको हो ।
अमेरिकी नागरिक भइसकेकी अरुणिमाले नेपालमा सिधै मुद्दा दायर गर्न नसक्ने भएकाले वारेसमार्फत सम्बन्धविच्छेदको प्रक्रिया सुरु गरेकी हुन् । उनले वैवाहिक सम्बन्ध अगाडि बढ्न नसकेको बताउँदै श्रीमान् युवराजमाथि आरोप लगाएकी छन् । उनका अनुसार युवराजले विवाहपूर्व विभिन्न विषयमा झूट बोलेका थिए ।
गत भदौ ३ गते काठमाडौंको राम मन्दिरमा उनीहरूबीच परम्परागत शैलीमा विवाह भएको थियो । विवाहको प्रस्ताव अरुणिमालाई आफन्तमार्फत आएको थियो र केही दिनको चिनजानपछि उनीहरूले बिहे गरेका थिए । विवाहको केही दिनमै अरुणिमा अमेरिका फर्किएकी थिइन्। उनी श्रीमानको घरमा बस्नसमेत नगई अमेरिका फर्किएकी हुन् ।
अरुणिमाले विवाहपछिका केही समयमै श्रीमान् युवराजसम्बन्धी विभिन्न नकारात्मक कुराहरू थाहा पाएको बताउँदै यस्तो झूटो आधारमा सम्बन्ध अघि बढाउन नसकिने निष्कर्षमा पुगेकी बताएकी छन् । एक अन्तर्वार्तामा उनले भनिन्, ‘विवाहअगाडि उहाँको राम्रो मात्रै सुनिएको थियो, विवाहपछाडि नराम्रो मात्रै देखियो । उहाँले झूट बोलेको स्वीकार गर्नुभएको छैन ।’
उनी अनुसार पछिल्लो केही महिनायता श्रीमान्-श्रीमतीबीच बोलचालसमेत बन्द भइसकेको छ । अर्कोतर्फ, युवराजले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । बुझिएअनुसार उनी सम्बन्धविच्छेद गर्न नचाहने पक्षमा छन् ।
कानुन अनुसार सम्बन्धविच्छेदका लागि श्रीमान् र श्रीमती दुवैको सहमति आवश्यक हुन्छ । यदि सहमति नजनाए पनि, एक पक्षले मुद्दा दायर गरेपछि एक वर्षसम्म अर्को पक्षले हस्ताक्षर नगरेको खण्डमा अदालतले एकपक्षीय रूपमा सम्बन्धविच्छेदको फैसला दिन सक्छ ।
अरुणिमाको यो दोस्रो विवाह हो । यसअघि उनको विवाह अमित अर्यालसँग भएको थियो । उनीहरूबाट एक छोरी पनि छन् । विवाहपछि उनीहरू अमेरिका सरेका थिए तर केही समयमै सम्बन्धविच्छेद भएको थियो। त्यसपछि अमितले पुनः विवाह गरेका थिए ।
