मकालुखबर दिनभर

प्रचण्डलाई देउवाको बेवास्ता, पूर्वराजाप्रति एमाले आक्रामक, चम्किए युवराज

प्रचण्डले भेट्न खोजे, देउवाले मानेनन्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्ताव अस्वीकार गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि भेट्ने प्रस्ताव गरेका थिए । तर, सभापति देउवाले ठाडै अस्वीकार गरिदिएका छन् ।

स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्ड वर्तमान ओली नेतृत्वको सरकार परिवर्तनका लागि दौडधुप गरिरहेका छन् । उनले कांग्रेस नेताहरूसँग नयाँ समीकरणका लागि छलफल पनि चलाइरहेका छन् ।
तर, सभापति देउवाले भने प्रचण्डको प्रस्तावलाई मतलब दिएका छैनन् । सभापति देउवाले प्रचण्डसँग भेट्न समेत मानेनन् ।

देउवा निकट एक नेताका अनुसार प्रचण्डले छलफलका लागि सन्देश पठाएका थिए । सभापति देउवाले भने वर्तमान सरकारलाई नै सफल बनाउने भन्दै भेट्न नमानेका हुन् ।

सभापति देउवाले प्रचण्डसँग भेटेमा गठबन्धनमा शङ्का पैदा हुने भन्दै भेट्न नचाहेका कांग्रेसका एक नेताले बताए ।

‘हामी स्थायित्वको पक्षमा छौँ । एमालेसँग सहकार्य गरेर सरकार बनाएका छौँ,’ सभापति देउवाले भनेका थिए ‘अहिले नै यो विषयमा छलफल गर्दिनँ, पहिले तपाईँसँग थिएँ, ओलीसँग भेटिनँ । अहिले ओलीसँग छु, तपाईँसँग भेट्दिनँ ।’

माओवादी अध्यक्ष प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने अभिव्यक्ति दिँदै आएका छन् ।

पूर्वराजाका गतिविधिको एमालेले गर्‍यो समिक्षा

नेकपा (एमाले)ले पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधिहरूबारे समिक्षा गरेको छ ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पूर्वराजा शाहका गतिविधिहरूबारे समिक्षा गरेको हो ।

शाहद्वारा आइतबार सार्वजनिक भिडियो सन्देशप्रति एमालेले आपत्ति जनाएको छ ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शाहमा अझै पनि प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने सोच जीवितै रहेको निष्कर्ष निकालेको बताए ।

नेकपा (एमाले) ले पार्टी स्थापना दिवसमा कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको पार्टी उपमहासचिव ज्ञवालीले बताए ।

उनकाअनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) रहेका छन् ।

पूर्वराजाको पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिक निष्कासित

पर्यटक भिसामा नेपाल आएर नेपालको सार्वभौममाथि प्रहार गरेको आरोपमा एक अमेरिकी नागरिकलाई निष्कासित गरिएको छ ।

नेपाल आएर राजसंस्थाका पक्षमा नाराबाजी गर्ने अमेरिकी नागरिकलाई सरकारले निष्कासित गर्ने निर्णय गरेको हो ।

गह मन्त्रालयले राजसंस्थाको पक्षमा नाराबाजी गर्नेक्रममा पक्राउ परेका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई निष्कासित गर्ने निर्णय गरेको हो ।

किर्पाललाई नेपाल प्रवेशमा दुई वर्षको प्रतिबन्ध पनि लगाइएको छ । नेपालको राजनीतिक गतिविधिमा संलग्न भएको भेटिएपछि किर्पालविरुद्ध प्रतिबन्धसहितको डीपोर्ट गर्ने निर्णय गरिएको स्रोतले जानकारी दियो ।

किर्पाललाई भोलि (मंगलबार) अमेरिका फर्काइनेछ ।

माओवादी केन्द्रलाई जनताले भरोसा गरेका छन् : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् ।

आज साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताए ।
उनले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे ।
माओवादी केन्द्रले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको भनाइ छ ।

नयाँ वर्ष २०८२ मा ८८ दिन सार्वजनिक बिदा

काठमाडौं । नयाँ वर्ष २०८२ सालमा नेपालीहरूका लागि ८८ दिन सरकारी बिदा पर्न लागेको छ । नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित जानकारीअनुसार, यस वर्षमा ५२ वटा शनिबार नियमित बिदाको रूपमा रहनेछ ।

साथै, विभिन्न चाडपर्व र विशेष दिवसहरू मिलाएर थप ३६ दिन बिदा तय गरिएको छ । दशैँ र तिहारजस्ता ठूला चाडपर्वहरूलाई मात्र हेर्दा पनि जम्मा २८ दिन बिदा पर्ने देखिन्छ। यस्तै, गणतन्त्र दिवसलगायतका विभिन्न राष्ट्रिय दिवसहरूलाई समेट्दा ६ दिन बिदा छुट्याइएको छ । त्यति मात्र होइन, स्थानीय तहहरूले आफ्ना परम्परा र संस्कृतिअनुसार थप बिदा घोषणा गर्न सक्ने अधिकार समेत पाउने भएकाले बिदाको संख्या अझ बढ्न सक्ने सम्भावना छ । यसरी हेर्दा, २०८२ साल नेपालीहरूको लागि उत्सव र विश्रामले भरिएको वर्ष बन्ने देखिन्छ ।

सुनसरीको रासीमा अपरिचित व्यक्तिले चलायो गोली, दुई घाइते

सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा आज साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र १ का शिवुकुमार मेहता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए ।

अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य रहेको र उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अर्का घाइते मेहता गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

जाजरकोट भूकम्प : ३४ हजार निजी आवासको क्षति आँकलन

यही चैत मसान्तसम्ममा जाजरकोट भूकम्पबाट प्रभावित निजी आवासको क्षति आँकलन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ हजार ३५ निजी आवासको विस्तृत क्षति आँकलन गरिएको विवरण आफ्नो प्रणालीमा प्रविष्ट भइसकेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता एवं उपसचिव रामबहादुर केसीले अझै क्षति आँकलनको काम भने जारी रहेको बताए । अब नयाँ वर्षसँगै जाजरकोट भूकम्पबाट क्षतिग्रस्त थप निजी आवासको क्षति आँकलनका लागि प्राधिकरण र मध्यपश्चिम विश्वविद्यालयबीच सम्झौता भएको उनले जानकारी दिए ।

यसका लागि हालै मात्र प्राधिकरणका कार्यकारी प्रमुख ई दिनेश भट्ट र विश्वविद्यालयको ग्राजुएट स्कुल अफ इञ्जिनियरिङका डिन सहप्राध्यापक डा राजन सुवालले यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित विश्वविद्यालयले २८ हजार ३५७ परिवारको निजी घरको क्षति आँकलनका लागि ८५ जना प्राविधिक बाँकी स्थानीय तहहरूमा खटाउने छ ।

यसअघि, विस्तृत क्षति आँकलनका लागि प्राधिकरण र पुल्चोक इञ्जिनियरिङ क्याम्पसबीच सम्झौता भई विस्तृत क्षति आँकलन भएको थियो ।

टिकटक बनाउने क्रममा कालीगण्डकीमा एक महिला बेपत्ता

कालीगण्डकी नदी स्नान गरेर टिकटक बनाउने क्रममा बगेर एक महिला बेपत्ता भएकी छिन् ।

पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणीस्थित कालीगण्डकी नदी किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा पर्वतको महाशिला गाउँपालिका–५ घर भई पोखरा बस्ने ३५ वर्षीया विष्णु पन्त चिप्लिएर लड्दा नदीमा खसेकी थिइन् ।

बेपत्ता पन्तको खोजी जारी रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र सशस्त्र प्रहरी बल २५ नं गण चण्डिकाको टोलीले खोजीकार्य तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए । प्रहरीको टोली खोजी गर्दै बिहादीसम्म पुगिसकेको छ ।

उनीसँगै उनकी दिदी र दुई छोरा समेत गएका थिए । उनीहरु भने सकुशल फर्किएको प्रहरीले जनाएको छ ।

नयाँ वर्ष तथा वैशाखे सङ्क्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनको घुइँचो लाग्छ ।

लियो सरकारको बजेट कार्यान्वयन फितलो

देशमा दुई तिहाइ नजिकको बलियो सरकार रहेपनि बजेट कार्यान्वयन भने फितलो देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ का लागि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ ५ सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएका थिए । बजेट कार्यान्वयन गर्न नपाउँदै उनको सरकार बहिर्गमनमा पर्यो । बजेट कार्यान्वयनको अघिल्लो दिन गत असार ३१ गते संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, जसपा, लोसपासहितको समर्थनमा दोस्रोपटक एमाले अध्यक्ष समेत रहेका केपी ओली प्रधानमन्त्री बनेका थिए ।

प्रतिनिधि सभाको दुईवटा प्रमुख दल काँग्रेस र एमालेका सांसदको समर्थनमा शक्तिशाली सरकारलाई बजेट कार्यान्वयनको अविभारा थियो । शक्तिशाली गठबन्धन सरकार बजेट कार्यान्वयनमा नराम्रोसँग चुकेको छ । सरकारी आयव्यायको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बजेट कार्यान्वयनको चैत मसान्तसम्म कुल १८ खर्ब ६० अर्बको बजेटमा सरकारले ९ खर्ब १८ अर्ब बजेट खर्च गरेको छ । बजेट कार्यान्वयनको अब तीन महिना मात्रै बाँकी छ । कुल बजेट पुरा खर्च गर्न अझै सरकारले यो अवधिमा ८ खर्ब ६२ अर्ब खर्चिनुपर्छ ।

चालु शीर्षकमा चालु आ।व।का लागि ११ खर्ब ४० अर्बको बजेट ल्याएकोमा ६ खर्ब ७८ अर्ब मात्रै खर्च गर्न गठबन्धन सरकार सफल भएको छ भने पुँजीगततर्फको ठूलो बजेट खर्च गर्न गठबन्धन सरकार पूरा असफल भएको छ । पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्ब बजेट ल्याइएकोमा बल्लबल्ल सरकारले चैत मसान्त सम्म १ खर्ब १ अर्ब मात्रै खर्च गरेको छ ।

जनताले प्रत्यक्ष अनुभूति गर्ने विकास निर्माणका काम गर्न सरकार पूर्णरुपमा असफल बनेको सरकारी तथ्यले नै प्रष्ट पारेको छ । त्यसो त, यो बजेट खर्च गर्न नसक्ने भन्दै सरकारले अर्धवार्षिक समीक्षामार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले झन्डै २ खर्ब बजेटको आकार नै घटाएका थिए । घटेको बजेट खर्चको आकारअनुसार पनि खर्च गर्न सरकारी अधिकारीहरू चुकिरहेको तथ्यले प्रष्ट पारेको छ ।

नेपालको लगातार दोस्रो जित, चम्किए युवराज

नेपालले यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हात पारेको छ ।

ओमानलाई आज ८ विकेटको फराकिलो अन्तरमा हराएको छ। ओमानको यो लगातार दोस्रो हार हो । जितको लागि १ सय १८ रनको चुनौति नेपालले १४.३ ओभरमा २ विकेट गुमाउँदै सहज जित आफ्नो पक्षमा पार्यो ।

नेपालका ओपनरद्वय साहिल पटेल र निरज कुमार यादवले पहिलो विकेटको लागि ८५ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । यो साझेदारीमा नेपालले आरामदायी जित निकाल्यो।

निरज अर्धशतकबाट मात्र ४ रनले चुके। ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४६ रनमा आउट भए। उनलाई सौम्य भविनसम्पतले आउट गरे । त्यसपछि अर्का ओपनर साहिल ४४ रनमा सौम्यकै बलमा आउट भए। कप्तान नरेन भट्ट अविजित १२ रनमा रहे ।

यसअघि माथिल्लो मुलपानी मैदानमा टस जितेर नेपालले फिल्डिङ रोज्यो । पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरको खेलमा मात्र ३६ ओभरमा अल आउट हुँदै १ सय १७ रनना समेटियो ।

ओमानका तेस्रो क्रमका जित ब्रजेश शाह बाहेक अन्य कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले अर्धशतक प्रहार गरे। ७८ बल खेल्दै ६ चौकाको मद्दतले ५२ रन जोडे । सिद्धार्थ सौम्य शंकरले १६ र प्रथिस हेमा रमेशले १० रन बनाए ।

ओमानका खेलाडीहरूले निराशाजनक ब्याटिङ गरे । कुनै पनि समय ठुलो साझेदारी बन्न सकेन्। आठ खेलाडीले दोहोरो रन छुन सकेनन् । ओमानलाई निरिह बनाउन युवराज खत्रीले सानदार बलिङ गरे । ७ ओभर बलिङ गर्दै २ मेडन सहित मात्र १५ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले २ विकेट लिए ।

लगातारको दोस्रो जितमा नेपालले ४ अंक बनाएको छ । नेपालले हिजो पहिलो खेलमा युएईलाई डकवर्थ–लुइसको आधारमा ५ रनले हराएको थियो । दुई खेलमा ओमान जित विहिन छ । ओमान हिजो अफगानिस्तनसँग ८ विकेटको फराकिलो अन्तरमा पराजित भएको थियो ।

अब बुधबार नेपालले हङकङसँग र अफगानिस्तानले युएईसँग खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *