धोनी चम्किदा चेन्नईले लखनउलाई ५ विकेटले हरायो

काठमाडौं । कप्तान महेन्द्र सिंह धोनीको शानदार पारीले चेन्नई सुपर किङ्सले आइपीएलमा पुनरागमन गरेको छ । सोमबार लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा चेन्नईले पाँच विकेटको रोमाञ्चक जित हात पार्दै लगातार पाँच हारपछि पहिलो जित दर्ता गर्‍यो ।

१६७ रनको लक्ष्य पछ्याएको चेन्नईले तीन बल बाँकी रहँदा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो । विजयी इनिङ्गको सूत्रधार बने- महेन्द्र सिंह धोनी, जसले ११ बलमा अविजित २६ रन बनाएर प्लेयर अफ द म्याचको उपाधि चुमे ।

शिवम् दुबेले पनि सानदार साथ दिँदै ३७ बलमा ४३ रनको योगदान दिए । सुरुवातमा साइक रसिद र रचिन रविन्द्रले पहिलो विकेटका लागि २९ बलमा ५२ रनको साझेदारी गर्दै चेन्नईलाई बलियो आधार दिएका थिए । रसिदले १९ बलमा २७ तथा रचिनले २२ बलमा ३७ रन जोडे ।

खेलको मध्यभागमा लखनउका स्पिनरले चेन्नईलाई दबाबमा राखेका थिए । दिगवेश राठीले ४ ओभरमा २३ रन दिँदै एक विकेट लिए भने रवि बिश्नोईले ३ ओभरमा १८ रन खर्चेर दुई विकेट लिए । पार्ट-टाइम बलर आइडन म्याक्रमले पनि चार ओभर बलिङ गर्दै २५ रनमा एक विकेट झारे ।

तर, १५ औं ओभरपछि विनय शंकर आउट हुँदा खेल अलि जटिल बनेको थियो । यही मोडमा मैदानमा आएका धोनीले ५ ओभरमा आवश्यक ५६ रनको चुनौतीलाई सहज बनाए ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ७ विकेट गुमाउँदै १६६ रन बनायो। ऋषभ पन्तले ४९ बलमा ६३ रन जोड्दै टोलीको इनिङ्ग सम्हाले । मिचेल मार्सले ३०, आयुष बडोनीले १७, र अब्दुल समादले ११ बलमा २० रनको योगदान दिए ।

चेन्नईका लागि माथिसा पाथिराना र रविन्द्र जडेजाले दुई–दुई विकेट लिए । नुर अहमदले विकेट नलिए पनि ४ ओभरमा केवल १३ रन दिँदै किफायती बलिङ गरे ।

मुम्बई इन्डियन्सविरुद्ध पहिलो खेल जितेपछि चेन्नई लगातार पाँच खेल हारेको थियो । लखनउविरुद्धको जितसँगै चेन्नईको अङ्क चार पुगेको छ, यद्यपि टोली तालिकाको पुछारमै छ । लखनउ भने आठ अङ्कसहित चौथो स्थानमा कायम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *