शिक्षक आन्दोलनप्रति चासो: कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा अगुवासँग संवादमा


काठमाडौं । शिक्षकहरूको आन्दोलनलाई लिएर नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय भएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आयोजित छलफलमा उनीहरूले शिक्षक महासंघका पदाधिकारीहरू तथा आन्दोलन नेतृत्व गरिरहेका अगुवाहरूसँग संवाद गरेका हुन् ।
छलफलमा शिक्षकहरूका माग र आन्दोलनको पृष्ठभूमि बारे विस्तृत कुराकानी भएको बताइएको छ । कांग्रेस नेताहरूले सरकारसँग भएको अघिल्लो सहमति कार्यान्वयन गराउन दबाब दिन पहल थाल्ने बताएका छन् ।
गत चैत २० देखि शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन् । आफूहरूको अधिकार र सहमतिको सम्मान गराउन सरकारलाई निर्णायक रूपमा दबाब दिन उनीहरूले निरन्तर आन्दोलन गरिरहेका छन् । यसअघि पनि कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै शिक्षकहरूको माग सम्बोधन गर्न आग्रह गर्दै आएका थिए ।
