आगामी दिनमा आइपियुमा हैसियतका साथ नेपाल उपस्थित हुनेछ : सभामुख घिमिरे


काठमाडौं । सभामुख देवराज घिमिरेले आगामी दिनमा नेपालले अन्तर व्यवस्थापिका संघ (आइपियु) मा हैसियतका साथ जानसक्ने उपलब्धि प्राप्त भएको बताएका छन् ।
मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिनुभएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यो उपलब्धिलाई सम्मान गर्दै आगामी दिनमा नोपालले आफ्नो महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए । गत वर्षको चैत्र २० गते सभामुख घिमिरेसहितको ९ सदस्यीय टोली अन्तर व्यवस्थापिका संघको १५० औं वार्षिक सभामा भाग लिन उज्वेकिस्तान गएको थियो ।
उनले अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा नेपाल पुगेको बताए । उनले एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा नेपाल पुगेको दाबी गरे ।
सभामुख घिमिरेले भने ‘अब हामी कमसेकम पनि एउटा अन्तर्राष्ट्रिय महत्वपूर्ण फोरमको कार्यकारी काम गर्ने ठाउँमा पुगेका छौँ । एशिया प्यासिफिकको भएपनि त्यसको भुमिका धेरै महत्वपूर्ण हुने ठाउँमा हामी पुगेका छौँ । यसको लागि खासगरी हाम्रो यहाँको संसदको सचिवालय, सिंगो सांसद र यसपालि जानुभएको डेलिगेशन र हाम्रो प्रयत्नलाई साथ दिनुहुने मुलुकहरु जसले हामीलाई भोट दिनुभयो, उहाँहरु सबै धन्यवादको पात्र हुनुहुन्छ । आगामी दिनमा आइपियुमा अब हामीले अलि हैसियतका साथ अगाडि जाने स्टेप (उपलब्धि) प्राप्ति भएको कुरामा म सबैको तर्फबाट यो उपलब्धिलाई सम्मान गर्दै यसमा जानुभएको मान्यज्युहरुलाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु ।’
सभामुख घिमिरेले यो उपलब्धिलाई नेपालले भरपुर उपयोग गर्नसक्नुपर्ने र आफ्नो नाम विश्वमाझ चिनाउन सक्नुपर्ने उल्लेख गरे ।
