सांसदहरूको जोड- जलवायु परिवर्तनसम्बन्धी मुद्दाका लागि संयुक्त फोरम बनाउनुपर्छ


काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य र प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले जलवायु परिवर्तनको विषयमा संघीय संसदका दुवै सदनका सांसदहरू सम्मिलित फोरम बनाउनुपर्नेमा जोड दिएकी छन् ।
हालै मात्र शाक्य अन्तरव्यवस्थापिका संघ (आइपियु) को दिगो विकास स्थायी एशिया—प्रशान्त क्षेत्रबाट विजयी भएकी छन् भने गौतम पनि १५० औं अन्तरसंसदीय संघ (इन्टर पार्लियामेन्ट्री युनियन आईपीयू) महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिमा निर्वाचित भएकी छन् ।
मंगलवार सिंहदरबारमा आयोजित अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५० औं महासभाबाट नेतृत्व लिएका डा. अञ्जान शाक्य र सोविता गौतमको स्वागत, सम्मान तथा संसदीय मामिला पत्रकारसँगको अनुभव आदानप्रदान कार्यक्रममा बोल्दै दुवै सांसदहरूले जलवायु परिवर्तनका लागि संयुक्त फोरम निर्माण गर्नुपर्ने बताएकी हुन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य शाक्यले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि पनि राष्ट्रिय सभा र प्रतिनिधि सभा र प्रदेश सभाका सांसदहरू समेत अट्ने गरी संयुक्त समिति बनाउनुपर्नेमा जोड दिइन् ।
देश निर्माणका लागि बजेट निर्माण सम्बन्धी संयुक्त कमिटी बनाउनुपर्ने बताइन् । उनले अन्तर्राष्ट्रिय फोरमहरूसँग सम्बन्धित विभिन्न समितिमा नेपालको उपस्थिति कमजोर रहेको भन्दै अब नेपालले सहभागिता बढाउने गरी अघि बढ्न जरुरी रहेको उल्लेख गरिन् । त्यसको लागि आन्तरिक तयारीलाई पनि त्यत्तिकै जोड दिन आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनिन् ‘हामीले अब ३ वटा कमिटी बनाउनुपर्छ की जस्तो लागेको छ । संयुक्त रुपमा प्रतिनिधि सभा, राष्ट्रिय सभामा । संयुक्त कमिटी जस्तो बजेट निर्माणमा । देश निर्माणमा कसरी हामी अघि बढ्न सकिन्छ रु भन्दा सबै सांसदहरूको स्वामित्व रहने गरीकन । अर्को भनेको क्लाइमेट चेन्जमा पनि आवश्यक रहेको छ । जसमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका साथै प्रदेश सभाका सांसदहरू पनि कसरी अटाउन सकिन्छ भन्नेकुरा हो । हाम्रो इन्टरनेशन रिजलेशनमा हामीले पनि अब ध्यान दिनुपर्ने आवश्यकता महसुस भएको छ । जस्तो सस्टेनेबल डेभलपमेण्टमा छ, सेक्युरिटमा छ । हेल्थमा छ । यसमा नेपालको सहभागिता अलि कम भएको देखिएको छ । यसका लागि हामीले आन्तरिक तयारी गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद गौतमले जलवायु परिवर्तनको मुद्दा हेर्नका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरू सहभागी संयुक्त फोरम बनाउनुपर्ने आवश्यकता औँल्याइन् । जलवायु परिवर्तनका मुद्दाहरू राष्ट्रिय सभा अन्तर्गतका दिगो विकास लगायतका समितिहरूमा छलफल हुने गरेको भएपनि संसदमा पनि छुट्टै कमिटी बनाउन जरुरी देखिएको उल्लेख गरिन् । जलवायु परिवर्तनको मुद्दा नेपालका लागि महत्वपूर्ण विषय रहेकाले फोरम बनाएर अघि बढ्दा कतिपय समस्या समाधान हुनेमा जोड दिइन् ।
उनले भनिन् ‘सम्माननीय सभामुखज्यूले त्यहाँको महासभालाई सम्बोधन गर्ने क्रममा पनि क्लाइमेट इस्युमा बढी महत्त्व दिएर विषय राख्नुभयो । हामी संसारभरका जुनसुकै फोरममा जाँदा पनि क्लाइमेट इस्युलाई बढी महत्त्व दिएर कुरा गरेका छौँ । अबदेखि सम्माननीयज्युसँग पनि मेरो अनुरोध छ । हामीले क्लाइमेटका लागि छुट्टै अन्तर्राष्ट्रिय फोरमहरूमा जहाँ पनि गएर क्लाइमेटका विषयहरू हामी गर्छौं । तर हामीले हाम्रै पाल्र्यामेण्टमा ट्याक्कै डेडिकेटेड कमिटी छैन । आफ्नै समितिमा दिगो विकासमा केही कुरा गरिरहेका हुन्छौँ । राष्ट्रिय सभामा कुनै समितिमा केही कुरा गरेको होला । ऊर्जामा, वनमा भइरहेको होला । धेरै ठाउँमा छुट्टाछुट्टै तवरले भइरहेको छ । तर क्लाइमेट नेपालको महत्वपूर्ण विषय र सेन्टरमा भएको विषय भएकाले कसरी निर्माण गर्ने हो, तर राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूको एउटा चासो भएका सांसदहरूको एउटा फोरम बनाउँदा उपयुक्त हुन्छ । त्यसले गर्दा कहाँ के भइरहेको छ ? कहाँ भाग लिइरहेका छौँ, त्यो पनि संसदलाई जानकारी हुन्छ ।’
सांसदहरूले आइपियुमा भाग लिन हरेक ६ महिनामा जानुपर्ने भएकाले नयाँ टिमलाई भाग लिइसकेका सांसदहरूले जानकारी गराउनुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।
