चाँगुनारायणमा १०८ फिट अग्लो महादेवको मूर्ति निर्माण गर्न समन्वय आवश्यक : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भक्तपुरको चाँगुनारायणमा निर्माणाधिन १ सय ८ फिट अग्लो महादेवको मूर्ति स्थापनाका लागि तीन तहको सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

चाँगुनारायण नगरपालिकामा मंगलवारदेखि शुरु भएको शिव पुराण ज्ञान यज्ञको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मुर्ति निर्माण सम्पन्न गर्नको लागि आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने– ‘यो मूर्ति स्थापनको लागि मैले गर्नुपर्ने काम इमानदारिताका साथ गर्नेछु भन्न चाहान्छु । यो १०८ फिटको शिवजीको मूर्ति बनाउने कुरा र यस क्षेत्रलाई अझै धार्मिक बनाउनको लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर तथा आम नेपाली जनता र भक्तजनहरु मिलेर यो कार्यलाई फत्ते गर्नमा लाग्नुपर्छ ।’

१०८ फिट अग्लो मूर्ति निर्माण सम्पन्न गर्न आर्थिक संकलन तथा धार्मिक महत्व उजागर गर्ने उद्देश्यले शिव पुराण महोत्सव सुरु भएको हो । महोत्सव यही बैशाख १३ गतेसम्म चल्ने बताइएको छ ।

नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ समेत हिजोदेखि सुरु भएको छ । नगरकोट भ्रमण वर्षलाई समेत लक्षित गरी महोत्सव आयोजना बताइएको छ ।

भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष शुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *