नवनिर्वाचित कार्यसमितिलाई देउवाले दिए बधाई तथा शुभकामना


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सङ्घको चैत २९ गते सम्पन्न महाधिवेशनबाट निर्वाचित अध्यक्ष भुवनसिंह गुरुङलगायतको कार्यसमितिलाई उहाँले आज बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अगाडि सारेका उम्मेदवारलाई विजय गराउन सफल भएकामा नेतृत्वलाई धन्यवाद दिए ।
पूर्वप्रधानमन्त्री देउवाले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन नयाँ कार्यसमिति लाग्नुपर्ने बताए ।
सङ्घका नवनिर्वाचित अध्यक्ष गुरुङले वैदेशिक रोजगार ऐन तथा नियमावलीमा परिवर्तन र सेवा शुल्क परिमार्जनजस्ता दीर्घकालीन सुधारका कामहरू अगाडि बढाउने बताए ।
एसोसिएसनका अध्यक्ष दीपक थापाले संगठनले अगाडि सारेका उम्मेदवारविरूद्ध लाग्ने एसोसिएसनकै केही व्यवसायीलाई कारबाही गर्न सहजीकरणका लागि आग्रह गरेका थिए ।
भेटमा कांग्रेस केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेही, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, सङ्घका नवनिर्वाचित पदाधिकारी एवं सदस्य र एसोसिएसनका प्रतिनिधिको सहभागिता रहेको थियो ।
