चीनबाट २ अर्ब २६ करोड बराबरको स्वास्थ्य सामग्री ल्याउँदै सेना

काठमाडौं । नेपाली सेनाले कोभिड-१९ को संक्रमणसँग जुध्न आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिद गर्ने प्रक्रिया टुंगिएको जनाएको छ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भई रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टुंगिएको जनाएको हो ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले चीनबाट ३४२ टन स्वास्थ्य सामग्री सरकार-सरकार (जिटूजी) प्रक्रियाबाट खरिद गर्ने चरणमा प्रवेश गरिएको जानकारी दिए । ६७ प्रकारका स्वास्थ्य सामग्री खरिदका लागि सोमबार नै चिनियाँ पक्षलाई एक करोड ८४ लाख ४१ हजार ७०६-३५ अमेरिकी डलर भुक्तानी भइसकेको छ । उक्त डलरको नेपाली रुपैयाँ करिब २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ हुन आउँछ ।

स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेसनल कर्पोरेसनसँग सम्झौता भइसकेको छ । नेपाल र चीनबीच भएको सम्झौतामा रकम भुक्तानी गरेको एक साताभित्र सबै सामग्री चिनियाँ पक्षले ग्वान्जाओमा जम्मा गरिदिने उल्लेख छ । सोहीअनुरुप अबको एक साताभित्र चिनियाँ पक्षले ती स्वास्थ्य सामग्री ग्वान्जाओमा जम्मा गरिदिने जानकारी प्राप्त भएको प्रवक्ता पाण्डेले जानकारी दिए ।

ग्वान्जाओबाट तातोपानी नाकासम्म सामान ढुवानी गर्न करिब सात दिन लाग्ने जानकारी आएको उनले बताए । त्यस्तै भन्सार प्रक्रिया पूरा गर्न दुई दिने लाग्नेछ । अत्यावश्यक सामग्री हवाई मार्गबाट ल्याउने विषयमा हवाई सेवा प्रदायकसँग छलफल भइरहेको उनले जानकारी दिए । ‘हामीले नेपाल एयरलाइन्स र श्री एयरसँग छलफल गरिरहेका छौं’, उनले भने, ‘ग्वान्जाओमा सामग्री जम्मा भएपछि निष्कर्षमा पुग्छौं ।’

बेइजिङस्थित नेपाली दूतावास तथा ग्वान्जाओस्थित महावाणिज्य दूतावासमार्फत पनि चिनियाँ ढुवानीकर्तासँग बुझ्ने काम भइरहेको उनको भनाइ छ । व्यक्तिगत सुरक्षाका सामग्री (पीपीइ), मास्क, कोरोना परीक्षणका लागि आवश्यक कीटलगायत अत्यावश्यक सामग्री हवाई र अन्य सामग्री सडक मार्ग हुँदै ल्याउने तयारी गरिएको छ ।

भारतसँग छलफल जारी
प्रवक्ता पाण्डेले भारतबाट कोभिड-१९ का बिरामीलाई दिइने औषधि खरिद गर्ने विषयमा पनि छलफल भइरहेको बताए । सरकारले भारतबाट ५३ प्रकारको औषधि ल्याउने तयारी गरेको छ । ‘हामीले नेपाललाई आवश्यक पर्ने औषधिको सूची पठाएका छौं। भारतीय पक्षसँग औषधि खरिदपछि गरिने भुक्तानी प्रक्रियाका बारेमा छलफल भइरहेको छ’, उनले भभने, , ‘भारतीय पक्षबाट हालसम्म जानकारी आएको छैन ।’ -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *