नेकपाका सांसदसँग प्रधानमन्त्रीले भनेः अध्यादेशबारे आशंका गर्नु पर्दैन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका संघीय सांसदहरुसँग प्रदेशगत आधारमा समूह बनाएर छलफल गरिरहेका छन्। सांसदहरुलाई बालुवाटार बोलाएर सरकारले जारी गरेको अध्यादेशका बारेमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधनमन्त्री ओलीले सूदुरपश्चिमका सांसदसँग भने छलफल सकाएका छन्। १ बजेपछि राष्ट्रिय सभाका सांसदलाई बोलाइएको छ। त्यसैगरी ४ बजे प्रदेश ५ का सांसदलाई बोलाइएको छ। प्रधानमन्त्री ओलीले सरकारले भर्खरै ल्याएको अध्यादेशबारे पार्टीका सांसदको धारणा बुझ्न चाहेका हुन्। सांसदहरुको छलफलमा उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक देव गुरुङ पनि सहभागी छन्।

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपाका संघीय सांसदहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले भारतसँग जोडिएको नेपालको सीमा नाका तत्काल नखुल्ने संकेत गरेका छन्। भारतमा कोरोना संक्रमणको अवस्था अन्त्य नभएसम्म सिमाना नखुल्ने प्रधानमन्त्रीले बताए। छलफलमा उनले लकडाउनको मोडल परिवर्तन हुनसक्ने बताए। प्रधानमन्त्रीले संक्रमण नदेखिएका ठाउँमा लकडाउन खुकुलो हुने संकेत गरेको छलफलमा सहभागी एक सांसदले बताए।

प्रधानमन्त्रीले सरकारले जारी गरेका अध्यादेशबारे अन्यौल र भ्रममा नरहन सांसदहरुलाई आग्रह गरेको छलफलमा सहभागी सांसद प्रेम आलेले बताए। अध्यादेश आवश्यकता परेरै जारी भएको र यसमा अरु कुनै आशंका गरिरहनु नपर्ने प्रधानमन्त्रीको भनाइ रहेको उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *