अपहरणमा परेका पूर्वमन्त्री यादव पार्टीको सम्पर्कमा आए

काठमाडौं। अपहरणमा परेका भनिएका समाजवादी पार्टीका सांसद तथा पूर्वमन्त्री डा. सुरेन्द्र यादव पार्टीको सम्पर्कमा आएका छन्। समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले यादव सम्पर्कमा आएको बताए।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यादव सम्पर्कमा आएको जानकारी गराए। उनले काठमाडौँको एक होटेलबाट यादवलाई फिर्ता लगिएको उल्लेख गरेका छन्। पाण्डेले पूर्वमन्त्री यादवलाई काठमाडौँको एक होटेलबाट समाजवादीका वरिष्ठ नेता अशोक राईले उद्धार गरेको बताए।

‘हिजो बेलुका कसरी अपहरण भयो, प्रशासनबाट के–के दुःख , प्रमले राति फोनमा के भन्नुभयो, बिहान होटेलबाट कसरी भागेँ भनेर विस्तृतमा सुनाउँदै सुरेन्द्र यादवजी’, फेसबुकमा डा. यादवसँगको तस्बिर सार्वजनिक गर्दै पाण्डेले लेखेका छन्। उनले प्रधानमन्त्रीको निर्देशनमा समाजवादीका सांसदलाई मन्त्री पद र आर्थिक प्रलोभन देखाएर काठमाडौंस्थित एक होटेलमा राखिएको आरोप लगाएका छन्।

पाण्डेले नै बुधवार साँझ आफ्नो फेसबुकमार्फत डा. यादवको अपहरण भएको उल्लेख गरेका थिए। समाजवादीका सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले बुधवार डा. यादवलाई पार्टी विभाजनको उद्देश्यले प्रधानमन्त्री केपी ओलीको निर्देशनमा काठमाडौँबाट गएको प्रहरी टोलीले धनुषास्थित निवासबाटै अपहरण गरेको आरोप लगाएका थिए।

समाजवादी पार्टी नेतृ रेणु यादवको नेतृत्वमा बुधवार राति विभाजित भएको छ। पाण्डेले पार्टी विभाजन गरेका इस्तियाक राई र रेणु यादवसँग अध्यक्ष भट्टराईले फोनमा कुराकानी गरेको पाण्डेले बताएका छन्। यता बुधवार मध्यरातमा समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकताको सहमति पनि भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *