लोकतन्त्र कमजोर पार्ने खेलमा सरकारः देउवा
काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग रहन आग्रह गरेका छन्। लोकतन्त्र कमजोर पार्ने खेलमा सरकार उद्धत रहेकोले सजग रहन सभापति देउवाले आग्रह गरेका हुन् ।
लोकतन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु,’ सरकारले संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर संविधानको मर्म विपरीत काम गरेको सभापति देउवाको भनाइ छ।
‘नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्धत हुन थालेको छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्।
सभापति देउवाले गलत मनसायका साथ जारी गरेका अध्यादेश फिर्ता गर्न सरकारसँग माग समेत गरे। लोकतन्त्रमाथिको यो घृणित कार्यको हामी सबैले भर्त्सना गर्नुपर्दछ। उक्त अध्यादेशहरू तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु,’ उनले भनेका छन्।
लोकतन्त्र दिवसको सन्देश
मुलुकमा लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका लागि विगतमा पटक पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरूमा आफ्नो प्राणको आहुति दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरुप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरूको समर्पण, साहस र बलिदानको म स्मरण गर्दछु र उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको सङ्घर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र बहालीका लागि २०६२/०६३ मा नेपाली काँग्रेस लगायत अन्य राजनीतिक दलहरूद्वारा सञ्चालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो । यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ ।
वर्तमान नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको छ । लोकतन्त्र माथिको यो घृणित कार्यको हामी सबैले भर्त्सना गर्नु पर्दछ । उक्त अध्यादेशहरू तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु ।
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु । यो अवसरमा वीर योद्धाहरूको साहस, संकल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौँ ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति