‘सरकारले लोकतान्त्रिक प्रणालीको धज्जी उडायो’

काठमाडौं। विभिन्न पाँच युवा संगठनका अध्यक्ष तथा महासचिवले सरकारले जारी गरेका अध्यादेश फिर्ता लिन माग गरेका छन्। बिहीबार संयुक्त रूपमा एक विज्ञप्ति जारी गरेर उनीहरूले अध्यादेश फिर्ता लिन माग गरेका हुन्।

कोरोना भाइरस महामारीको सामना गर्न आवश्यक भूमिका निर्वाह गर्नुपर्ने समयमा सरकारले संसद् र आफ्नै पार्टीलाई छलेर षड्यन्त्रमूलक ढङ्गले विवादास्पद अध्यादेश जारी गरिएकोप्रति उनीहरूले आपत्ति जनाएका छन्। राजनीतिक अस्थिरता र दलीय द्वन्दमार्फत संकटको बेला विषयान्तर गर्न खेलमा सरकार लागिपरेको आरोप लगाए।

प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तिवादी र अधिनायकवादी सोचलाई स्थापित गर्न अध्यादेश जारी गरेकोसमेत उनीहरूको आरोप छ। अध्यादेश मार्फत संविधानको मूल मर्ममा प्रहार गरेर वर्तमान सरकारले लोकतान्त्रिक प्रणालीको धज्जी उडाएको विज्ञप्तिमा उल्लेख छ। नागरिकले गरेको सङ्घर्ष र बलिदानको समेत उपहास गरेको उनीहरूको भनाई छ।

‘यसले एकातिर संविधानको मूल मर्म र भावनामा प्रहार गरेको छ भने, अर्कोतिर लोकतान्त्रिक प्रणालीको समेत धज्जी उडाएको छ। जारी अध्यादेशमार्फत गरिएको कानुन र संविधान संशोधनले संविधान निर्माणको लागि नेपाली नागरिकले गरेको सङ्घर्ष र बलिदानको समेत उपहास गरेको छ,’ जारी विज्ञप्तिमा भनिएको छ।

युवा संठगनका अध्यक्षहरुले सर्वसत्तावाद लाद्ने दिवास्वप्न नदेख्न ओली सरकारलाई चेतावनी दिएका छन् । सरकारले जारी गरेको अध्यादेश विरुद्ध विभिन्न पाँच युवा सङ्गठन (तरुण दल, समाजवादी युवा सङ्घ, साझा युवा संगठन, राष्ट्रिय युवा संगठन, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन)का अध्यक्ष तथा महासचिवले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *