अध्यादेशविरुद्ध नेविसंघद्वारा देशभर प्रदर्शन, फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी

काठमाडौं । सरकारले ल्याएकाे अध्यादेशविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले देशभर प्रदर्शन गरेको छ ।

सरकारले सोमबार ल्याएको दुवै अध्यादेश फिर्ताको माग गर्दै नेविसंघले आज (शुक्रबार) बिहान ९ बजेदेखि देशभर प्रदर्शन गरेको अध्यक्ष राजीब ढुंगानाले जानकारी दिए । उनका अनुसार ५–५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा अकस्मात दुई अध्यादेश ल्याउने प्रस्ताव राखेका थिए।

केन्द्रीय समिति वा संसदीय दलका ४० प्रतिशत सदस्यले पार्टी विभाजन गर्नसक्ने प्रावधान सहितको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ मन्त्रिपरिषदले पारित गर्नेबित्तिकै राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

कोरोना भाइरसको महामारीसँग जुधिरहेको अवस्थामा अध्यादेश ल्याउनुको औचित्यबारे मन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । लोकतन्त्र समाप्त पार्ने नियतका साथ अध्यादेश ल्याइएपछि विरोधमा उत्रिनु परेको नेविसंघले जनाएको छ ।

राष्ट्रीय संकटको घडीमा जनतालाई घरमा थुनेर संविधानको भावना र मर्म विपरीत लोकतन्त्र समाप्त पार्ने नियतका साथ ल्याइएका अध्यादेश फिर्ता नभए नेविसंघले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिइएको छ ।

काठमाडौंको गोंगबुमा पनि नेविसंघले प्रदर्शन गरेको छ । नेविसंघका महामन्त्री दीपक भट्टराईको नेतृत्वमा काठमाडौंमा प्रदर्शन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *