दिदीभाइको पीडाः शरीर काम्छ, हिँड्न भित्ताको सहारा

भरतराज शर्मा (गोपाल)–सुनसरी । समाजसेवाको नाममा च्याउसरी खुलेका संघ–संस्थाले धरान–८ सभागृह लाईन अरुण टोलका एक दलित परिवारको पीडा देखेका छैनन् ।

३३ वर्षीय गंगा बिक र २९ वर्षका टेकबहादुर विक विगत १० वर्षयता हात खुट्टा स्थिर मात्र नभइ हल्लिने र काप्ने व्यथाले ग्रसित छन् । कुनै पनि साहारा बिना हिँड्डुल गर्न नसक्ने अवस्थामा छन् उनीहरु ।

भनिन्छ, सुनसरीको धरानमा सबै मनकारी मनहरु छन् तर ती विक दिदीभाइका निम्ति कोही नभएको सरह भइरहेको छ । उनीहरु दुवैको शारीरिक अवस्था कष्टकर र दर्दनाक छ ।

उनीहरु बस्ने घरमा पानी परेको समयमा टिनको छानो चुहिएर धारो बर्सन्छ । उनीहरु उठेर हिँड्न घरको भित्ता, बार, खम्बा लगायतको सहारा चाहिन्छ ।

शरीर थर्रर काम्छ । यस्तो समस्या भएको ९/१० बर्ष भइसक्यो तर राज्य र सुनसरीका संघ–संस्थाहरुले यता नजर लगाएको पाइँदैन । गरीबीका कारण भाइको स्वास्थ्य जाँँच भएपनि दिदीको हुन सकेको छैन ।

स्वास्थ्य जाँचमा वंशानुगत गुण भएको डाक्टरले बताएको उनीहरुकी भाउजू अनिता बिकले जानकारी दिइन् । उनीहरुकी आमाले अरुको घर चुल्हो चौकाके काम गरेर पालनपोषण गर्ने गरेकी उनले बताइन् ।

करिब २०/२२ बर्षअघि गंगा विकको धरान–१६ निवासी रमेश बिश्वकर्मासँग विवाह भएको थियो । तर जब उनमा यस्तो रोग देखा पर्यो, उनका श्रीमान् पनि उनलाई छोडेर कहाँ गए अत्तोपत्तो छैन । उनको दुई जना सन्तान पनि उनीसँगै छन् ।

एक १७ बर्षको छोरा काठमाडौंमा मोटरसाइकल ग्यारेजमा सिकारुका रुपमा काम गरिरहेका छन् भने अर्की एक १४ बर्षीय छोरी सरिता सहिद स्मृति मावि धरान– ८ मा कक्षा ५ मा पढ्दै छिन् ।

उनले बार्षिक ४ सय रुपैयाँ दलित छात्रवृत्ति बाहेक कुनै पनि सुविधा विद्यालयबाट पाउन सकेकी छैनन् । सरकारी विद्यालय भएपनि अहिले विभिन्न प्रकारका शुल्क लिने गरेको गुनासो उनीहरुले गरेका छन् ।

गंगालाई आफ्नै श्रीमानले विष खुवाएर मार्ने योजना समेत बनाएका थिए । तर उनलाई खुवाईएको सोही मेटासिट म्याद सकिएको परेकोले उनी उपचारपछि निको हुन सफल भइन् । त्यसपछि अझ यो भन्दा कडा बीस ल्याएर मार्छु भनेर हिँडेको श्रीमान अहिलेसम्म घर नआएको उनले दुखेसो गरिन् ।

यति ठूलो अन्यायमा पर्दा पनि न अपाङ्गताको क्षेत्रमा काम गर्ने एनजीओ आए न त न्याय दिलाउन अन्य कुनै मान्छे नै आए । त्यही भएर पनि होला उनी अहिले माइती घरको पानी चुहिने झुपडीमा पिडादायी जीवन बिताउन बाध्य छिन् ।

उनीसँग एउटा व्हील चियर मात्र छ । व्हील चियरमा हिँड्ने ठाउँमा घर नभएकाले त्यसको उपयोग गर्न समेत उनले सकिरहेकी छैनन् ।

यसरी नरकिय अवस्थाको जीवन बिताउन बाध्य उनीहरुका लागि निःशुल्क स्वास्थ्य उपाचार, सहज आवासको खाँचो छ ।

स्थानीय नवीन रम्तेलका अनुसार उनकै अगुवाईमा उनीहरुलाई अपांग परिचयपत्र बनाईदिएर हाल मासिक ३ हजारको व्यवस्था भएको छ । यसैबाट उनीहरुको गुजारा चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *