प्रधानमन्त्रीलाई देउवाका ५ सुझावः ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अध्यादेश फिर्ता लिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।

आज (शुक्रबार) बालुवाटारमा भएको भेटवार्तामा सभापति देउवाले प्रम ओलीलाई विवादास्पद दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याएको भन्दै धन्यवाद दिएका हुन् । बालुवाटार भेटवार्तामा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि उपस्थिति रहेको थियो ।

साथै उनले सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन संग्लन भएकाहरुलाई कारवाही गर्न माग गरेका छन् । यसबारे निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्ने सभापति देउवाको भनाइ छ ।

त्यस्तै सभापति देउवाले ब्यापक कोरोना भाइरस (कोभिड १९) परिक्षण अहिलेको आवश्यकता भएको भन्दै समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगर्न पनि सुझाव दिएका छन् । देश कोरोनाको जोखिमसँग लडिरहँदा अब बिवादका कुनै कुरा नल्याउन पनि प्रधानमन्त्रीलाई सजग गराएको कांग्रेस सचिवालयले जनाएको छ ।

यस्ता छन् प्रधानमन्त्रीलाई सभापति देउवाका ५ सुझाव

१. दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।

२. ब्यापक परिक्षण अहिलेको आवश्यकता हो । समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।

३. स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पुर्याउनु पर्यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।

४. श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् । राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन । श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।

५. बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्नेबारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *