मनमोहन अधिकारीको २१ औं स्मृति दिवस आज

काठमाडौं । नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा तत्कालीन नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको २१ औं स्मृति दिवस आज परेको छ ।

अघिल्ला वर्षहरुमा अधिकारीको सम्झनामा कार्यक्रम हुने गरेका भएपनि यसवर्ष भने कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि लकडाउन चलिरहेकाले कुनै औपचारिक कार्यक्रम छैन । विसं १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।

संसदबाट निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री बनेका अधिकारीको नेपालको वाम आन्दोलनमा महत्वपूर्ण भूमिका रहेको थियो । लामो राजनीतिक संघर्षको क्रममा अधिकारीले १७ वर्ष जेल जीवन बिताएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि नौं महिनासम्म प्रधानमन्त्री भएका अधिकारी आफ्नो गाउँ आफै बनाउँ र वृद्धभत्ता कार्यक्रमका कारण लोकप्रिय बनेका थिए ।

२०४६ को जनआन्दोलन ताका नेकपा माक्र्सवादीका अध्यक्ष रहेका अधिकारी २०४७ मा नेकपा मालेसँग पार्टी एकीकरण भएपछि नेकपा एमालेको समेत संस्थापक अध्यक्ष बनेका थिए । मनमोहन अधिकारी सादा जीवनशैली र इमानी नेताका रुपमा पनि चिनिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *