हवाई उडान जेठ २ गतेसम्मका लागि स्थगित

काठमाडौं। कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान सेवा जेठ २ गतेसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु थप १५ दिन बन्द गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

सरकारले १८ वैशाख गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर २ जेठ सम्म पुर्‍याइएको हो। लकडाउनको निरन्तरता र यसको मोडालिटीबारे छलफल भए पनि यसको विषयमा निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने सचिव विडारीले बताए।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकमा एक महिना लकडाउनले पारेको प्रभाव र संक्रमणको संभावित जोखिमबारे छलफल भएको हो। देशका विभिन्न भागमा कोरोना संक्रमण देखिएको, सबै क्षेत्रमा परीक्षण भइनसकेकाले देश कोरोना संक्रमणको खतराबाट मुक्त नभएको समितिले निष्कर्ष निकालेको छ।

शुक्रबारको मन्त्रिपरिषद्‍मा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटीबारे छलफल गरेर सिफारिस गर्न निर्देशन दिएका थिए। छिमेकी भारतमा वैशाख २१ सम्म लकडाउन घोषणा गरिएको छ।

नेपालमा त्यो भन्दा पहिले लकडाउन खुल्दा खुला सिमा कारण जोखिम थप बढ्ने भएकोले तत्काल लकडाउन खोल्ने पक्षमा सरकार नरहेको बताइएको छ। सरकारले पछिल्लोपटक थपेको लकडाउनको अवधि यही वैशाख १५ गते सकिँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *