असिनापानीले दुई सय बिघाको तरकारी नष्ट

परासी । केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा करीब २०० बिघा क्षेत्रफलमा लगाइएको तरकारी खेती नष्ट गरेको छ । असिनापानीले घिरौँला, लौका, करेला, फर्सी, काँक्रोलगायत लहरेबालीका साथै प्याज, खुर्सानी, धनियाँ, मुला, बन्दालगायत तरकारीमा क्षति पुगेको छ । लाखौँ मूल्यको तरकारीखेती एकै पटक नष्ट भएपछि कृषक चिन्तामा परेका छन् ।

पाल्हीनन्दन–५ मा मात्रै १०० बिघा र अन्य वडामा १०० बिघा गरी २०० बिघामा लगाइएको तरकारीखेती पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जानकारी दिए । क्षतिको स्थलगत अनुगमन गरिएको बताउँदै उनले भने, “असिनापानीले गाउँपालिकाका सवै वडाका कृषक पीडित बनेका छन् ।”

फल्न लागेका र टिपेर बिक्री गर्ने तयारीमा रहेको लहरे तरकारीबाली कामै नलाग्ने गरी नष्ट भएको पाल्हीनन्दन–५ का महेन्द्र गुप्ताले बताए । “हामीले गाउँपालिकामा क्षतिपूर्तिको माग गर्दै निवेदन दिएका छौँ, पीडित कृषकका लागि सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्छ”, उनले भने ।

बन्दाबन्दीका कारण कृषि उत्पादन बजारसम्म पुर्‍याउन नपाएर समस्यामा परेका कृषक खेती नै नष्ट भएपछि थप चिन्तित बनेका छन् । असिनापानीले गर्दा आफूले ६ कठ्ठामा लगाएको तरकारी नष्ट भएको पाल्हीनन्दन–३ परसियाका व्यावसायिक कृषक सुरेन्द्र केवटले गुनासो गरे । “फर्सी राम्रो भएको थियो, प्याज, खुर्सानी, मुला, धनियाँ, काँक्रो लगाएको थिएँ, सबै नष्ट भयो, सरकारले उचित राहत वा क्षतिपूर्तिको व्यवस्था गरिदिए केही राहत हुन्थ्यो”, उनले भने ।

यहाँका अधिकांश कृषकको आम्दानीको स्रोत नै तरकारीखेती हो । महेशपुर, परासी, सुनवल, बर्दघाटलगायत नजीकको बजारमा आफूले उब्जाएको तरकारी बिक्री गरेर यहाँका किसानले दैनिक गुजारा चलाउने गरेका छन् ।

कृषकको लाखौँ मूल्यको तरकारीबाली नष्ट भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ ।

वडा कार्यालयमार्फत पीडित कृषकबाट क्षतिको यकिन विवरण सङ्कलन गरेर उचित राहतका लागि पहल गरिने गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ताले बताए ।  आआफ्नो वडा कार्यालयमार्फत क्षतिको विवरणसहितको निवेदन पेश गर्न गाउँपालिकाले पीडित कृषकलाई आग्रह पनि गरेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *