वीपी प्रतिष्ठानले तयार पार्यो १३ आइसियू सहित सय वेडको कोभिड–१९ अस्पताल
भरतराज शर्मा (गोपाल)
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १३ वटा आइसियू सहित कोरोना अस्पताल तयार भएको छ । कोरोना रोकथाम तथा उपचारका लागि प्रतिष्ठानले १३ वटा आइसियू सहित एक सय वेडको अस्पताल नै तयार पारेको हो ।
प्रतिष्ठानले करिब डेढ सातामा कोभिड–१९ अस्पताल तयार पारेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले बताए ।
कोरोना भाइरस संक्रमित विरामीको उपचार गर्न प्रतिष्ठानमा तयार पारिएको उक्त अस्पतालको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आजै उद्घाटन गरी प्रतिष्ठानलाई हस्तान्तरण समेत गरेका छन् । प्रतिष्ठानमा द्वन्द्व पीडितहरुको उपचार गर्न स्थापना गरिएको पुर्नस्थापना केन्द्रलाई कोभिड–१९ अस्पतालमा परिणत गरिएको हो । पछिल्लो समय पुर्नस्थापन केन्द्रमा फिजियोथेरापीको इकाई सञ्चालनमा रहेको थियो ।
अस्पतालमा वार्ड, अप्रेशन थिएटर, आइसियु, पेडियाट्रिक आइसियु, गाइनो वार्ड, एचडियु लगायत सेवाहरु सञ्चालनमा रहेको उपकुलपति डा. गिरीले जानकारी दिए । कोघिड–१९ अस्पतालमा छुट्टै एक्स रे, भिडियो एक्स रे सेवा पनि रहेको छ । भने निकट भविष्यमा सिटि स्क्यान पनि राखिने तयारी छ ।
‘कोभिड अस्पतालमा आएका विरामीलाई वीपीको मुख्य अस्पतालमा आउन नपर्ने गरि सबै सेवाहरु त्यही विस्तार गर्ने योजना छ, अस्पतालमा संक्रमण फैलन नदिन उपकरण, स्थान, अप्रेशन सबै कोभिड भएको र नभएको विरामीको लागि अलग्गै गरिएको छ ।’ उपकुलपति डा. गिरीले भने ।
संघीय सरकारले वीपी प्रतिष्ठानलाई कोभिड–१९ उपचारको लागि लेभल थ्री अस्पतालको स्तरमा वर्गीकरण गरेर राखेको छ । अस्पताललाई वीपी प्रतिष्ठान, धरान उपमहानगरपालिका तथा प्रदेश सरकारले संयुक्त रुपमा व्यवस्थापन गर्ने र त्यसका लागी प्रदेश सरकारले हरेक तबरबाट सहयोग गर्ने हस्तान्तरण कार्यक्रममा प्रदेश नं एकका मुख्यमन्त्री शेरधन राईले बताए ।
मुख्यमन्त्री राईले अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै देशबासीको स्वास्थ्य समस्यालाई व्यवस्थित र समन्वयात्मक तवरले समाधान गर्न सकियोस भनेर काम गर्ने आफुले बिश्वास लिएको बताए । उनले आगामी दिनमा यदी कोरोनाका बिरामी बढ्दै गए कोभिड–१९ का बिरामीहरुलाई सहज रुपमा चाप धान्न सकियोस भनेर नै स्थानीय तहमा उचित व्यवस्थापन गर्न समेत अस्पतालमा तयार रहने जिकिर गरे ।
कोभिड महामारीले गाँजेको अवस्थामा एक नं प्रदेश सरकार, प्रतिष्ठान तथा स्थानीय सरकारले चालेका कदम अरु स्थानीय निकायका लागि समेत उदाहरण बन्न सकेको र यसमा यस क्षेत्रका स्वास्थ्य विज्ञहरुको सक्रियता र सहयोगले काम गरेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जनाए ।
अस्पताललाई कोभिड अपचारका निम्ती चाहिने आवश्यक उपकरण सहितको वार्डहरु बनाइएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले बताए । कोभिड १९ उपचार समितीका संयोजक प्रा.डा संजिव शर्माका अनुसार कोभिड व्यवस्थापनका लागी बिभिन्न गाइडलाइन जारी गरिएको छ । भने, मेडिकल सपोर्ट टीम समेत बनाईएको छ ।
सात सुरक्षाकर्मीलाइ पठाइयाे हाेम क्वारेन्टाइन
यसैबीच वीपी प्रतिष्ठान धरानमा कार्यरत प्रहरीलाई होम क्वारेन्टाइन पठाइएको छ । प्रतिष्ठानमा एक महिनादेखि निरन्तर डिउटीमा खटिएका प्रहरीहरूलाई कोरोना भाइरसको जोखिम हुन सक्ने भन्दै होम क्वारेनटाईनमा पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् ।
प्रतिष्ठानको आकस्मिक कक्ष बाहिर रहेको प्रहरी पोस्टमा सईको कमान्डमा ७ जना प्रहरी खटिएका थिए । उनीहरूको स्वास्थ्यमा जोखिम हुनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउनका लागि होम क्वारेनटाईनमा पठाइएको हो ।
प्रतिष्ठानको आकस्मिक कक्षमा विभिन्न खालका बिरामीहरू उपचारका लागि आईरहने र पछिल्लो समय कोरोना संक्रमित पनि प्रतिष्ठानमा स्वास्थ्य परीक्षणका लागि आएकाले प्रहरीको स्वास्थ्यलाई मध्यनजर गरेर उनीहरूलाई क्वारेनटाईनमा पठाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।