सुलभ अग्रवालविरुद्ध ३ वर्ष कैद र १५ लाख विगो मागदाबीसहित मुद्दा चलाउन सिफारिस

काठमाडौं । शंकर ग्रुपका मालिक तथा व्यवसायी सुलभ अग्रवालविरुद्ध ३ वर्ष कैद र १५ लाख ७८ रुपैयाँ विगो मागदाबीसहित मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ ।

कोरोनाको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल चैत्र २५ गते पक्राउ परेका थिए । जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका उनले ३ देखि ५ हजारसम्म पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको प्रहरीको आरोप थियो ।

६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका ४ वटा कसुरमा कैद सजाय र मागदाबी सहित मुद्दा चलाउन सिफारिस गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत पनि हुन् । हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेका उनीविरुद्ध पहिलो पटक ७ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक १० दिन गरी २२ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको थियो।

प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *