बजेट निर्माण गर्दा कोरोनाले निम्त्याउने जोखिमबारे ध्यान दिऊः जनार्दन शर्मा

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी कर्णाली प्रदेशका इञ्चार्ज जनार्दन शर्माले कोभिड–१९ को प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा कर्णाली प्रदेश सरकारले राम्रो कदम चालेको बताएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुसँग प्रदेश सरकारको कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका विषयमा आइतबार भएको भर्चुअल बैठकमा इञ्चार्ज शर्माले हालसम्म प्रदेश सरकारले सह्रानीय काम गरेको बताएका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेका इञ्चार्ज शर्माले भने, ‘कोरोना प्रतिकार्यका लागि प्रदेश सरकारले राम्रोसँग पहलकदमी लिएको छ। चालु आवको बजेट स्वास्थ्य क्षेत्रको पूर्वाधार, सामग्री र उपचारमा मात्र परिचालन गर्न आग्रह गर्दछु।’

सरकारविरुद्ध प्रश्न नउठ्ने गरी पारदर्शी काम गर्न र कोरोनाका कारण आउन सक्ने विश्वव्यापी आर्थिक मन्दी, वैदेशिक रोजगारीमा रहेका नेपालीको स्वदेश फिर्तीलगायतले पार्न सक्ने जोखिमलाई ध्यान दिन एवं आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा हतारो नगर्न मुख्यमन्त्री शाहीलाई उनले सुझाव दिए।

इञ्चार्ज शर्माले लकडाउनको उपयोग गर्दै कोरोनाविरुद्ध लड्न आन्तरिक तयारीलाई तीव्र बनाउन तथा लकडाउन खुलेपछि आइपर्ने सम्भावित चुनौतीको हल गर्ने गरी आगामी रणनीति तयार गर्न पनि सुझाए। बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सबै मन्त्रीले कर्णाली प्रदेशमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामकारवाहीबारे पार्टी नेतृत्वलाई जानकारी गराएका थिए। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *