‘प्रधानमन्त्रीको राजीनामा माग्नु पार्टी विभाजनको प्रस्ताव हो’

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग भएको स्पष्ट संकेत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा थापाले प्रधानमन्त्री ओलीको राजीनामा प्रस्ताव पार्टी विभाजनको रूपमा आएको समेत व्याख्या गरेका छन्।

उनले फेसबुकमा भनेका छन्, ‘पछिल्लो समयमा आएर प्रधानमन्त्री र पार्टी अध्यक्षबाट कमरेड केपी शर्मा ओलीको राजीनामाको जुन प्रस्ताव सार्वजनिक भएको छ। यो पार्टी विभाजनको प्रस्ताव हो। सकिदा केपीमात्रै सकिन्छन् भन्ने कसैले सोचेको छ भने यो मूर्खताभन्दा अरू के नै हुन सक्छ ? विग्रह होइन, पार्टी एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता हो।’

अध्यादेश प्रकरणपछि नेकपा शीर्ष तहमा अविश्वास र दुरी बढ्दै गएको छ। पछिल्लो विकसित राजनीति अवस्था, भावी कदम र अबका रणनीतिबारे शीर्ष नेतृत्वले आन्तरिक रूपमा आफू निकट नेतासँग छलफल तीव्र पारेका छन्। पार्टी स्थायी समितिको ठुलो सङ्ख्याका सदस्यहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूले पार्टीमा देखिएका विमतिबारे छलफल गर्न तत्काल स्थायी समितिको बैठक बोलाउन दबाब दिएका छन्।

तर स्थायी समितिको बैठक नबोलाउने प्रयत्नमा प्रधानमन्त्री ओली लागेको आरोप केही नेकपा प्रभावशाली नेताहरूले लगाएका छन्। प्रधानमन्त्री ओली स्थायी समितिको बैठक बोलाउन तयार नभए सरकार परिवर्तनको समीकरण तयार पार्ने सम्मका कुरा नेकपामा भएको चर्चा चलेको छ।

पार्टीका अर्का अध्यक्ष ‘प्रचण्ड’ले वरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री र झलनाथ खनाललाई राष्ट्रपति बनाउने सम्मको प्रस्ताव राखिसकेको चर्चा पनि नेकपाभित्र छ। नेपाल पक्षधर नेताहरूले ओलीलाई दुवै पदबाट हटाउनुपर्ने सम्मका बिचार राखेको नेकपा स्रोतले जनाएको छ।

तर ओली निकट मानिने थापाले केपी ओलीको राजीनामा सोच्न समेत नहुने बताएका छन्। एकताको पक्षमा उभिनु अहिलेको आवश्यकता भएकोले राजीनामाको प्रस्ताव ल्याउन मूर्खतापूर्ण कदम हुने उनको भनाइ छ। शासन सञ्चालनको क्रममा कहीँ कमजोरी भए त्यसलाई सुधार गर्न सकिने भनाइ थापाले राखेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘कहीँकतै कमजोरी छैनन् भनेर कसैले भनेको छैन। कमजोरी हटाउनुपर्दछ भन्नेमा विवाद नै छैन, तर विभिन्न घटनालाई उछालेर जनता कार्यकर्तालाई घटनापछि कुदाउने र आफू पानीमाथिको ओभानो बन्ने प्रवृत्ति सबैका लागि घातक हुन्छ। विभिन्न कमी र कमजोरीलाई सच्याउँदै एकताबद्ध, बलियो र प्रभावकारी पार्टी तथा सरकार आम नेपाली जनता र नेकपाका नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकको मूल चाहाना हो।’

उनले अगाडि थपेका छन्, ‘नेकपाभित्रको हालको विवाद कार्यशैलीगत हो। वैचारिक र राजनीतिक विवाद महाधिवेशनबाट हल गर्ने विषयमा आम सहमति भएकै छ। यो सरकार बनेकै दिनदेखि केही नेतास्तरका मानिस निहुँ झिकिझिकी सरकार र पार्टी नेतृत्वको विरुद्धमा विपक्षी पार्टीभन्दा चर्को स्वरले विरोध अभियान चलाउँदै आएका छन्।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *