सांसदलाई ओलीले भनेः पार्टी विभाजन हुनसक्छ, तयार बस्नू

काठमाडौं। नेपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अप्ठेरो परिस्थिति सिर्जना भएकोले आफू निकटका सांसदहरुलाई तयारी अवस्थामा बस्न भनेका छन्। सोमबार दिनभर नेकपाका नेताहरुको बहुपक्षीय भेटवार्ता भएको थियो।

आफू निकट सांसदहरुलाई सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटार बोलाएर ओलीले अन्य नेताहरुले वार की पारको रणनीति लिएकोबारे जानकारी गराएका थिए। उनले आफूलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्षबाट हटाउने अन्तिम प्रयास भइरहेको सांसदहरुलाई सुनाएका थिए। प्रधानमन्त्री ओलीले पार्टी फुट्ने अवस्था पनि आउन सक्ने भएकाले तयार भएर बस्न भनेको एक सांसदले बताए।

आफू सच्चिन तयार हुँदा पनि पार्टीका नेताहरुले आफूलाई हटाउन लागेकोले पार्टी विभाजन हुनसक्ने संकेत गरेको ती संसदको भनाइ छ। प्रधानमन्त्रीले तीन चार दिनमा सबै कुरा टुङ्गो जानकारी सांसदहरुलाई गराएका स्रोतको भनाइ छ। एक सांसदले भने, ‘कही कतै कमजोरी भए सच्चाउछु भन्दा पनि साथीहरु मलाई हटाउन लाग्नु भएको छ। विपक्षी दल हटाउन लाग्नु स्वभाविक नै हो। मलाई त हटाउन पार्टीका साथीहरुबाटै घेराबन्दी गरियो।’

तर पार्टी फुट्न नदिन आफूले प्रयास केन्द्रीत गरेकोबारे पनि प्रधानमन्त्रीले सुनाएको सांसदहरुले बताएका छन्। बैठकमा करीब २५ जना सांसदको उपस्थित रहेको बताइएको छ। सोमबार दिउँसो ओली र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुबीच कोटेश्वरमा लामो छलफल भएको थियो। त्यहाँ नेपाल समूहका नेताले एक व्यक्ती, एक जिम्मेवारीको विषलाई उठाएका थिए। सोही विषयमा लक्षित गरी प्रधानमन्त्रीले आफू पछि नहट्ने बताए छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *