‘हस्ताक्षर अभियान बेठिक छ, यसले पार्टीलाई विभाजनतिर लान्छ’

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य टोपबहादर रायमाझीले पार्टीभित्र विवाद बढेका बेला हस्ताक्षर अभियान चलाउने प्रयास गलत भएको बताएका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हस्ताक्षर अभियान चलाउन लागेकोप्रति रायमाझीले असन्तुष्टि पोखेका हुन्।

सांसदहरुले थालेको हस्ताक्षर अभियानले पार्टीलाई विभाजतिर लैजाने भएकोले अहिलेको समयमा यस्तो कार्य गर्नु अनुचित भएको उनको तर्क छ। प्रयोजन नखुलाइ हस्ताक्षर संकलन शुरू गरिएपछि त्यसमा आफ्नो सहमति नरहेको पनि उनले प्रष्ट्याए। सरकार र पार्टी सञ्चालनमा समस्या भएपनि पार्टीको बैठकबाट समस्याको निकास खोज्नु पर्ने नेता रायमाझीको भनाइ छ।

अहिलेको कोरोना संकटका बेला प्रधानमन्त्रीको विकल्प खोज्नेगरी हस्ताक्षर अभियान चलाउनु ठिक नभएको उनको भनाई छ। ‘कुन पक्षले के उद्देश्य वा प्रयोजनले हस्ताक्षर संकलन शुरू गरेको हो मलाई थाहा भएन। तर, जसले गरेको भए पनि बेठिक हो। यसले पार्टीलाई विभाजनतिर लान्छ।’

नेकपाका अन्य केही नेताहरुले पनि हस्ताक्षर अभियानमा असहमति जनाएका छन्। नेकपामा अध्यादेश प्रकरणले असन्तुष्टि बढेको छ। गुटहरु सक्रिय भएका छन्। प्रचण्ड र नेपाल समूह मिल्दा संस्थापन (ओली) समूह अल्पमतमा परेको छ। प्रचण्ड र नेपाल समूहले सचिवालय र स्थायी कमिटी बैठकको माग गरिरहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *