सांसद ‘अपहरण’को जाहेरी सरकारी वकिलको कार्यालयले पनि लिएन
काठमाडौं। सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेको आरोपमा उजुरी दिन जनता समाजवादी पार्टीका नेताहरू मंगलबार सरकारी वकिलको कार्यकालय, काठमाडौंमा गएका छन्। महानगरीय प्रहरी परिसर टेकुले सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता गर्न नमानेपछि उनीहरू सरकारी वकिलको कार्यालय पुगेका हुन्।
सरकारी वकिल कार्यालयले पनि उजुरी दर्ता गर्न आनाकानी गरेको जनता समाजवादीका नेताहरुले बताएका छन्। सरकारी वकिलको कार्यालयले उजुरी लिन नमानेको जनता समाजवादीका नेता केशव झाले जानकारी दिए। जाहेरी दर्ता गराउन जनता समाजावदीका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, केशव झालगायका नेताहरु पुगेका छन्।
प्रहरी कार्यालयले जाहेरी लिन नमानेको खण्डमा उक्त बेहोरासहित जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गर्न सकिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार समाजवादीका नेताहरु सरकारी वकिल कार्यालय पुगे थिए। सांसद ‘अपहण’ जाहेरी दिएपनि यो राजनीतिक विषय भएकाले दर्ता गर्न अस्वीकार गरेको जनाइएको छ।
समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौंसम्म ल्याएको आरोप लगाइएको छ। तर समाजवादीले उक्त प्रकरण अपहरण भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही माग गर्दै आएको छ।