प्रधानमन्त्री ओलीद्वारा संसद् भवनको अवलोकन

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को भवन अवलोकन गरेका छन्। बजेट अधिवेशनबारे सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेलगत्तै प्रधानमन्त्री ओली बुधबार संसद् भवन पुगेका हुन्।

सभामुख सापकोटासँग बुधबार बिहान भएको भेटमा संसद् भवनमा सांसदहरूलाई बस्ने व्यवस्था कस्तो छ भन्नेबारे प्रधानमन्त्रीले चासो राखेका थिए। सोही भेटमा प्रधानमन्त्रीले संसद् भवनमा गरिएको व्यवस्था हेर्ने चाहना व्यक्त गरेका थिए। प्रधानमन्त्री संसद् भवन आएको जानकारी संसद्का कार्यवाहक महासचिव गोपालनाथ योगीले दिए।

संसद् सचिवालयका कार्यवाहक योगीका अनुसार संसद अधिवेशन बोलाउनका लागि सबै तयारी पूरा भइसकेको छ। सांसदहरूलाई दूरी कायम गरेर बस्ने व्यवस्था गरिएको उनले बताए। सरसफाइ र आवतजावतका क्रममा पनि ध्यान दिइनेबारे पर्याप्त व्यवस्था गरिएको संसद् सचिवालयले जनाएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन रोक्नका लागि लकडाउन गरिएका कारण संसद अधिवेशन ढिलाइ भइरहेको छ। संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते बजेट संसद्‍मा पेस गर्नुपर्ने हुन्छ। सरकारले बजेट निर्माणको तयारी तीव्र पारिएको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *