बुधबार भेटिएका तीन संक्रमित दिल्लीबाट फर्किएका थिए

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ। बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप तीनजनामा कोरोनामा संक्रमण पुष्टि भएको हो।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा बाराका दुईजना र पर्साका एकजना गरेर तीनजनामा संक्रमण पुष्टि भएको बताए। संक्रमितहरु उमेर पर्साका ४६ वर्षीय पुरुष र बाराका ४३ र ३१ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ। तीनैजनालाई उपचारका लागि वीरगञ्जस्थित् नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको उनले जानकारी दिए।

बुधबार भेटिएका संक्रमति यसअघि वीरगञ्जमा संक्रमित भेटिएका दुईजनासँगै भारतको दिल्लीबाट एकसाथ फर्किएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा १६ जना बिरामी निको भएर घर फर्किसकेका छन्।

विदेशबाट फर्केर आएका व्यक्तिमा समाजले के भन्ला भन्ने डर त्रासका कारण कोरोना भाइरसको परीक्षण नगर्ने गरेको उनको भनाइ छ। उनले विदेश आएका व्यक्तिलाई सजग भएर क्वारेन्टाइनमा बस्न र शंका लागे तुरुन्तै परीक्षण गराउने आग्रह गरे। ‘यो बेला सजग हुनुपर्ने स्थिति हो । अलगै बसेर संक्रमण प्रसार रोक्न सक्छु भन्ने जानकारी राख्नु पर्ने हुन्’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *