काेराेनाकाे परीक्षण गराउनुस्, समुदायलाई संक्रमणबाट जोगाउनुस्ः स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुँदैमा नआत्तिन आग्रह गरेको छ । आज (बुधबार) को नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाबाट संक्रमित हुँदैमा आत्तिनुपर्ने अवस्था नरहेको भन्दै सजग रहन आग्रह गरेका हुन् ।

विदेशबाट आएका र अन्य व्यक्तिहरु जो आफू संक्रमित छु भन्ने शंका लाग्दा पनि पोजिटिभ आयो भने समाजले आफू र आफ्नो परिवारलाई विभेदपूर्ण व्यवहार गर्छ भन्ने डरले पनि परीक्षणमा नआएको पाइएको प्रवक्ता देवकोटाले बताए ।

‘यदि तपाईँ कोरोना संक्रमित हुनुहँदो रहेछ र परीक्षण गराउनु भएन भने तपाईँ मात्र नभइ तपाईँको परिवार र समाजमा पनि संक्रमण फैलने जोखिम बढ्छ’, डा. देवकोटाले भने, ‘संक्रमित हुँदैमा आत्तिनुपर्ने अवस्था छैन । उपचारपछि निको भइन्छ । परीक्षण गराउनुस् र सिंगो समुदायलाई कोरोना संक्रमण हुनबाट जोगाउनुस् ।’

उनले विदेशबाट फर्किएकाहरुलाई पनि सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरे । ‘डराउने होइन, सजग हुनुपर्छ । समाजले पनि विभेद नगरी क्वारेन्टाइन्मा बस्न र संक्रमणबाट जोगाउन सहयोग गर्नुपर्छ’, उनले भने ।

आजसम्म पीसिआर विधिबाट ११ हजार ५२४ र आरडिटी विधिबाट ४५ हजार ६६५ वटा नमुना स्वाब परीक्षण भएको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । उनका अनुसार गएको २४ घन्टामा २ हजार ३६७ वटा नमुना स्वाब परीक्षण भएका छन् ।

त्यस्तै २२  हजार ९०१ जना क्वारेन्टाइन्मा छन् भने आइसोलेसनमा ८७ जना छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *