वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारवाही सम्बन्धमा भाटभटेनी सुपरमार्केटको स्पष्टोक्ति
काठमाडौं । भाटभटेनी सुपरमार्केटले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको कारबाही सम्बन्धमा स्पष्टोक्ति दिएको छ । गत १५ गते विभागले गरेको जरिवाना सम्बन्धमा काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केटले स्पष्टोक्ति दिएको हो ।
विभागले सुपरमार्केटले काठमाडौंको टेकुस्थित काष्ठमण्डप खाद्य उद्योग प्रालिबाट आपूर्ति गरिएको २५० ग्रामको लाखमरी प्याकेटमा बढी मूल्य लिएको भन्दै उक्त जरिवाना गरेको थियो ।
भाटभटेनीले काठमाडौं महानगरपालिका वडा नम्बर १२ स्थित काष्ठमण्डप खाद्य उद्योगबाट विगत लामो समयदेखि नेवार समुदायमा माग हुने लाखमरीलगायत सामान किनेर उचित मूल्यमा आफ्ना आउटलेटमार्फत बिक्री गर्दै आएको भनि स्पष्टोक्ति दिएको छ ।
भाटभटेनी सुपरमार्केटले आफ्ना आउटलेटमार्फत बिक्री हुने हरेक सामानको मूल्य र स्टकको हिसाबकिताब राख्न बारकोड प्रयोग गर्दै आएको बताएको छ ।
भाटभटेनीको स्पष्टोक्ति भनिएको छ, उक्त लाखमरीको हकमा लकडाउनजन्य जटिल परिस्थितिका कारण बारकोडको स्टिकर टाँस्ने जिम्मा सामान आपूर्तिकर्ता काष्ठमाण्डप खाद्य उद्योगलाई नै दिएका थियौं । र उक्त उद्योगले पनि लकडाउनकै कारण सीमित तथा बारकोडको विषयमा गहिरो जानकारी नभएका कर्मचारीबाट काम गराउँदा २५० र ५०० ग्रामको ५० वटा लाखमरी प्याकेटमा एउटै मूल्यको बारकोड स्टिकर टाँसिन गएको हामीलाई जानकारी गराएको छ । र सोही बारकोड हाम्रो बारकोड रिडरले पहिचान गर्दा कम्प्युटर प्रणालीमा बढी मूल्य देखिन गई विभागले हामीलाई जरिवाना गरेको हो ।
यस्तै भाटभटेनीले एक लाख ५० हजारभन्दा बढी फरक मूल्यका वस्तुमध्ये एउटा वस्तुमा मानवीय त्रुटिले गल्ती देखिएको घटनालाई आधार मानेर भाटभटेनीलाई अन्यथा नठान्न पनि आग्रह गरेको छ ।