चाेरी आरोपित कर्मचारीलाई निलम्बन गर्न कांग्रेस निकट वडाध्यक्षहरुको माग
चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका सामग्री अपचलन (चोरी) गरेको आरोप लागेका कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
भरतपुर महानगरपालिकालाई उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आरोपितलाई कारवाही गर्न माग गरेका हुन् ।
आज महानगरका मेयर रेनु दाहाललाई भेटेर लिखित ज्ञापनपत्र बुझाउँदै उनीहरुले महानगरबाट खटिएका कर्मचारीसमेतको संलग्नतामा अस्पतालका सामग्री अपचलन (चोरी) गरिएको गम्भीर आरोप लागेकाले तत्काल उनीहरुलाई कारबाही गर्न माग गरिएको छ ।
‘यस कार्यालयका कर्मचारीसमेतको संलग्नतामा अस्पतालबाट कोरोना उपचारका लागि आवश्यक सामग्रीहरु अपचलन (चोरी) गरी लगेको कुरा विभिन्न समाचारमाध्यम, सामाजिक सञ्जाल र अस्पतालको प्रत्यक्ष सीसीटिभी फूटेजबाट बाहिर आएको छ’, मेयरलाई बुझाएको पत्रमा भनिएको छ, ‘उल्लेखित कार्य गर्ने यस कार्यालयका कर्मचारीलाई यथाशीघ्र निलम्बन गरी संलग्न अन्य सहभागी समेतलाई कारबाही गरी आवश्यक छानबिन गर्न अनुरोध गर्दछौँ।’
अस्पताललाई आर्थिक हानी पुर्याउने कार्य आर्थिक भ्रष्टाचारजन्य गम्भीर अपराध भएको उपमेयर तथा वडाध्यक्षहरुले ठहर गरेका छन् । उक्त पत्रमा उपमेयरसहित १३ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यसमेतले हस्ताक्षर गरेका छन् ।
पत्रमा भरतपुर–२१ का वडाध्यक्ष चित्रसेन अधिकारीको नेतृत्वमा गएको टोलीले बुझाएको पत्रमा उपमेयर पार्वती शाह ठकुरी, वडा नम्बर ३ का अध्यक्ष चन्द्रमित्र पण्डित, वडा नम्बर ६ का हरिविलास कोइराला, ८ का अध्यक्ष दामोदर न्यौपाने, १४ का अध्यक्ष ओमप्रकाश पोखरेल, १५ का अध्यक्ष शम्भुबहादुर भण्डारी, १६ का अध्यक्ष अमृतराज हमाल, १७ का अध्यक्ष ललितमान तामाङ, १८ का अध्यक्ष दीपक लामा, १९ का अध्यक्ष कर्णबहादुर गुरुङ, २० का अध्यक्ष मणिलाल तामाङ, २७ का अध्यक्ष गोविन्दबहादुर तामाङ तथा कार्यपालिका सदस्यद्वय पवित्रा केसी गीता शर्माले हस्ताक्षर गरेका छन् । सो क्रममा उपमेयर शाह भने उपस्थित थिइनन् ।