संकटका बेला विभाजनको रेखा कोर्नु देश र जनताप्रतिको धोकाधडी होः शशांक कोइराला

काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसको भयानक सङ्कटको बेला विभाजनको रेखा कोर्नु मूर्खता मात्र नभएर देश र जनताप्रतिको धोकाधडी हुने बताएका छन्। बिहीबार एक भिडिओ सन्देश जारी गरेर उनले पार्टीगत स्वार्थ र राजनीतिभन्दा माथि उठेर एकताबद्ध ढंगले जनताको स्वास्थ्य समाधानमा लाग्न सरकारसँग आग्रह पनि गरे।

कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सीमा क्षेत्र र विदेशमा अलपत्र परेका नेपालीप्रति आफू र आफ्नो पार्टी चिन्तित रहेको महामन्त्री कोइरालाले बताएका छन्। बन्दाबन्दीले दैनिक ज्यालादारी गरेर जीविका चलाउने मजदुर, गर्भवती महिला लगायतका अन्य दीर्घ बिरामीहरूले भोग्नु परेको समस्याले चिन्तित तुल्याएको उनले बताए।

आफू र आफ्नो पार्टीले यस विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराइरहेको समेत उनले भिडियो सन्देशमा उल्लेख गरेका छन्। उनले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन सचेत रहन आग्रह पनि गरे। भिडियो सन्देशमा उनले कोरोनाबाट बच्न केही सतर्कताका बारेमा जानकारी गराएको उल्लेख गरेका छन्।

उनले कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंतिमा रहेर काम गरेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिए। कोरोना श्वासप्रश्वासबाट सर्ने रोग भएकोले सामाजिक दूरी कायम गर्न उनले आग्रह गरेका छन्। बन्दाबन्दी खुलेपछि पनि बाहिर जाँदा सामाजिक दूरी कायम गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

साबुन पानीले पटक पटक हात धुन, हातले नाक, मुख र आँखा नछुन पनि उनको आग्रह छ। विदेशबाट आएकाहरू क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताएका छन्। उनले मुश्लिम समुदायलाई रमजानको शुभकामना दिएका छन्। घरमै बसेर नमाज पढ्न पनि उनको आग्रह छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *