धरौटी बुझाएर रिहा भएका सुलभ अग्रवाल फेरि किन पक्राउ परे ? 

काठमाडौं । कोरोनाको ज्वरो नाप्ने थर्मलगन कालोबजारी गरेको आरोपमा चैत्र २५ मा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाल आज धरौटिमा रिहा भएको केही क्षणमै पुनः पक्राउ परेका छन् ।

जिल्ला अदालत काठमाडौंले कालोबजारीसम्बन्धी मुद्दामा धरौटी बुझाएर रिहा हुन आदेश दिएपछि अदालतमा २५ लाख ५० हजार रुपैयाँ बुझाएर हिरासतबाट छुटेका उनी पुन पक्राउ परेका हुन् ।

रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा पठाइने छ ।

६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका ४ वटा कसुरमा कैद सजाय र मागदाबी सहित मुद्दा चलाउन सिफारिस गरेको थियो ।

अग्रवाल नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत पनि हुन् । हाल महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा रहेका उनीविरुद्ध पहिलो पटक ७ दिन, दोस्रो पटक ५ दिन र तेस्रो पटक १० दिन गरी २२ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *