कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा, घुस लिने पक्राउ

काठमाडाैं । कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई रु पाँच लाख ६० हजार जरिवाना गरिएको बताए ।

धनगढीको ग्लोबल सर्जिकल हाउसलाई पिपिई र मास्कमा कालोबजारीको गरेको भन्दै रु दुई लाख, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेवापत रु २०/२० हजार जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।

अनुगमनका क्रममा पिपिईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत मूल्य वृद्धि गरेको भेटिएपछि जरिवाना गरिएको जनाइएको छ । धनगढी उपमहानगरपालिका–६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला ग्यासमा ग्राहकबाट बढी शुल्क लिएर ग्यास सिलिन्डर बिक्री गरेको भन्दै रु तीन लाख जरिवाना गरिएको छ ।

सो सप्लायर्सले ग्राहकबाट रु एक हजार ३४० पर्ने ग्यास सिलिन्डरको रु एक हजार ३७५ लिएर बिक्री गरेको पाइएपछि जरिवाना गरिएको वाणिज्य तथा आपूर्ति कार्यालयका प्रमुख पुनले बताए ।

त्यस्तै यता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरायसी झगडासम्बन्धी विवाद मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा कैलालीको एक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विर्ख धामीलाई पक्राउ गरेको छ ।

आयोगका अनुसार गौरीगंगा नगरापालिका १० का धामीले घरायसी झगडासम्बन्धी इलाका प्रहरी कार्यालय मसुरियामा दर्ता भएको मुद्दा मिलाइदिने भनी एक सेवाग्राहीसँग रु ५० हजार घुस लिएको पाइएको छ ।

आयोगले आरोपी धामीलाई बिहिबार पक्राउ गरेको भए पनि छानबिन जारी रहेकाले आज सार्वजनिक गरिएको जनाएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आरोपी धामीमाथि अनुसन्धान भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *