जनताको सुरक्षामा खटिएका राष्ट्रिय सेवा दललाई नेपाली सेनाको सहयोग
- सुजता निङ्लेकु
विराटनगर । मुलुकले कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि लकडाउन झेलेको महिना दिन बितिसकेको छ । आम नागरिकको दैनिकी थप कष्टकर बन्दै गएको छ ।
यतिबेला स्वास्थ्यकर्मी, सुरक्षाकार्मी अग्रस्थानमा रहेर जनताको स्वास्थ्य रक्षाका लागि युद्ध मैदानमा लडिरहेका छन् भने सुरक्षाकार्मीलाई साथ दिन नेपाली सेनाद्धारा तालिम प्राप्त राष्ट्रिय सेवा दलका टोली अग्रभागमा रहेर खटिरहेका छन् ।
विराटनगरस्थित कंचनबारी चौकमा बिहान ११ बजे देखि साँझ ७ बजेसम्म जनताको सुरक्षाका लागि सडकमा खटिने गरेको राष्ट्रिय सेवा दलका मालबिन चापागाईँले बताए ।
उनी पोखरीया स्कुलमा कक्षा १० मा अध्ययनरत छन् । लकडाउनका कारण एसईई परिक्षा रोकिएसँगै बचेको समय जनताको सुरक्षाका लागि खटिएको उनले बताए । उनी भन्छन्– ‘हामीले तालिम लिएको राष्ट्र संकट परेको बेला सहयोग पुर्याउनका लागि हो ।आज हामीले गरेनौँ भने भाेलि केही गर्न सक्दैनौँ ।’
उनको अनुसार कंचनबारी चौकमा पोखरिया स्कुलबाट तालिम प्राप्त गरेका ९ र १० कक्षामा अध्ययनरत ५ पुरुष र ३ महिला खटिएका छन् । सडकमा खटिरहँदा कहिलेकाँही बुझने मान्छेले नै नबुझे झैँ गरिदिने गरेको उनको भनाइ छ ।
उनीहरु खाना खान घरमै जाने गर्दछन् । कहिलकाहीँ समाजसेवीहरुले खाजा दिने भए पनि कहिले भोकै डिउटी गर्नु पर्ने अवस्था रहेको उनले सुनाए । चुनौती आफैँमा छ तर निःस्वार्थ देशका लागि काम गर्न पाँउदा आत्मसन्तुष्टि रहेको उनले बताए ।
उनीसँगै डिउटीमा खटिएका जमुना निरौला बिहानको समय पढाईको लागि छुटयाउँछिन् । बाँकी रहेको समय दिनभरी सडकमा खटिन्छन् । बुवाआमाको अनुमतीले नै जनताको सुरक्षाका लागि खटिएको उनले बताइन् । ‘हामीले तालिम लिएको नै विपतको सामना गर्न हो’, उनले भनिन् ।
उनी भन्छिन्– ‘कहिलेकाँही भोकै खटिनु पर्दा गाह्रो भए पनि आजभोलि नेपाली सेनाद्धारा दिँउसोको नास्तामा चिया र विस्कुट दिनुहुन्छ, हामी त्यहि खाएर दिनभरी खटिन्छौँ ।’ उनको अनुसार नेपाली सेनाद्धारा मास्क,पञ्जा, सेनिटाइजर लगायतका सुरक्षाका सामाग्रि पनि उपलब्ध गरइएको छ ।
मे १ अर्थात् विश्व मजदुर दिवसको दिन कञ्चनबारी चौकमा भेटिएका सूर्य दल गणका सहसेनानी खड्ग बहादुर निरौलाको नेतृत्वमा सडकमा खटिएका राष्ट्रिय सेवा दलका टिमलाई चिया र विस्कुट वितरण गरिरहेका थिए ।
कोरोना भाइरस संक्रमणको जोखिमपूर्ण अवस्थामा पनि निःश्वार्थ भावले सडकमा खटिएका राष्ट्रिय सेवा दलका टिमलाई थप हौसला प्रदान गर्न चिया नास्ताको व्यवस्था गरिएको सहसेनानी निरौलाले बताए ।
स्वास्थ्य सुरक्षाका सामग्रीको अभावमा पनि जनताको स्वास्थ्य रक्षाका लागि स्वतस्फुर्त सडकमा खटिएका भाइबहिनिको आत्मबल बढाउनका निमित्त मास्क, सेनिटाइजर उपलब्ध गराएको सहसेनानी निरौलाको भनाइ छ ।