शिक्षकलाई नै चित्त बुझ्दाे छैन अनलाइन कक्षा, बालबालिकाका लागि उचित छ ?
- भरतराज शर्मा (गोपाल)
सुनसरी । देशमा लकडाउन भएको आज ४३ दिन भइसकेको छ । विद्यार्थी तथा बालबालिकाहरुका लागि एउटा समस्या खडा गरेकाे छ यसले । महिनौ दिन अघिबाट विद्यालय कलेजहरु बन्द छन्, जसकारण सबैको घर नै विद्यालय बनेको छ ।
केही निजी तथा सरकारी विद्यालयहरुले विद्यार्थीहरुका लागि अनलाइन कक्षा सुरु गरेका छन् । यसका जति फाइदा छन्, त्याेभन्दा बढी बेफाइदा देखिएकाे छ । बिहान हुनेबित्तिकै बालबालिका तथा विद्यार्थीहरु दिइएको समयमा नै कम्प्युटर तथा मोबाइल लिएर बस्नैपर्ने अवस्थाको सिर्जना भएको छ यसबाट । घण्टाैंसम्म कम्प्युटर वा मोबाइल स्क्रिनमा एकोहोरो आँखा लगाइराख्नुपर्ने हुन्छ ।
नाम उल्लेख नगर्ने सर्तमा उनले भने, ‘कतिपय शिक्षकहरुलाई नै यस विषयमा चित्त बुझेको छैन । विद्यालयको पाठ्यक्रम नै अनलाइन प्रविधिमैत्री छैन । कसरी सम्भव हुन्छ पढाइ ?’ त्यस्तै सबै विद्यार्थीको घरमा नेटको व्यवस्था नहुुने तथा मोबाइल डाटाको प्रयोग गरी इन्टरनेट चलाउँदा डाटा समेत महँगो पर्ने उनी बताउँछन् ।
यदि विद्यार्थीहरुको घरमा राम्रो मोबाइल वा ल्यापटप छैन भने त्यो विद्यार्थीलाई अनलाइन कक्षा कसरी गराउन सकिन्छ ? उनी प्रश्न गर्छन् । उनका अनुसार अहिलेको स्थितिमा कतिपय विद्यालयले गर्ने गरेको यस्तोखाले प्रयोग कोशिस सिवाया केही हुँदैन । यस्तो प्रक्रियाको प्रयोग गरि केवल अभिभावकलाई मुर्ख बनाउने तथा पढाइ शुल्क असुल्ने प्रक्रिया मात्र भएको उनको भनाइ छ ।
समग्रमा अनलाइन कक्षा गराउँदा कतिपय विद्यार्थीहरुलाई इन्टरनेट सम्बन्धी जानकारी नै नभएको उनको बुझाइ छ । त्यस्तै उनले देशका पहाडी इलाकाहरुमा वाईफाई ईमेल ईन्टरनेट नचल्ने जस्ता कुराले समस्या ल्याउने र कतिपय विद्यालयका शिक्षकहरुलाई नै ईमेल ईन्टरनेटका प्रविधि सम्बन्धी पुर्ण ज्ञान नभएको उनको तर्क छ ।
उता धरान १४ स्थित रहेको आईडियल इङ्गलिस बोर्डिङ स्कुलका शिक्षक सागर खडकाले गएको चैत्रमा ५ गते नै विद्यार्थीहरुको परिक्षा समेत सकिएपछि प्रायः ग्रामिण क्षेत्रबाट आएका शिक्षकहरु आ–आफनो घर गइसकेको र लकडाउनका कारण उतै अड्किएकाले पनि विद्यार्थीहरुका लागि पूर्ण रुपमा अनलाइन कक्षा उपयुक्त नहुने बताए ।
उनका अनुसार धरानका कतिपय विद्यालयहरुले अनलाइन मार्फत् कक्षा सञ्चालन गरेको दावी गरेपनि तीनै विद्यालयहरुमा राम्रो प्रविधिको ईमेल ईन्टरनेट व्यवस्था छैन ।
त्यस्तै खडकाले अनलाईबाट एक चोटीमा १० देखि १२ जना विद्यार्थीहरुभन्दा बढीलाई पढाउन सकिने प्रविधि पनि नेपालमा नभएको बताए । त्यसैले पनि यो प्रक्रिया अपनाउने कुरा सरासर गलत भएको उनको भनाइ छ । फेसबुक अथवा म्यासेन्जरबाट २/४ वटा प्रश्नको उत्तर लेख्न वा होमवर्क गर्न दिँदैमा अनलाइईन कक्षाको माध्यमबाट विद्यालयहरुले विद्यार्थी पढाउने कुरा दिवा स्वप्न बाहेक अरु केही नहुने उनको बुझाइ छ ।
यति मात्र नभइ यदि बालबालिका तथा विद्यार्थीहरुलाई अनलाईनमार्फत लगातार कक्षा लिइरहेको अवस्थामा उनीहरु स्क्रिनको अगाडी घण्टौं बस्नुपर्ने बाध्यता हुन्छ र जसले गर्दा उनीहरुको आँखा तथा मनोविज्ञानमा समेत असर पुग्छ ।
यता धरानकै एक अभिभावक रुपा देवी तिवारीले लकडाउनको बेला बाध्य बनेको पढाइ विद्यालयको कक्षाकोठामा जति राम्रो हुन्छ त्यति राम्रो अनलाईन कक्षाबाट नहुने बताइन् । उनले यो बेलामा अभिभावकले आ– आफ्ना छोरा छोरीहरुलाई घरमा नै राख्ने एउटा सजिलो उपायको रुपमा मात्र लिने गरेको सुनाइन् ।
यसरी अभिभावकहरुले आ–आफ्ना कुरा राखिरहँदा एउटा प्रश्न यो पनि उठ्ने गरेको छ कि यदि विद्यालयको पढाइ सहि समयमा भएन भने के हुन्छ ? किनकी लकडाउनका कारण विद्यालयहरु छिट्टै खुल्ने कुनै छाँटकाट देखिँदैन । यसरी बालबालिकाहरु कहिलेसम्म पढनबाट बञ्चित रहन्छन् ?
प्रा.डा.टंक प्रसाद न्यौपानेको बुझाइ भने फरक छ । यदि देशमा लकडाउन लम्बियो भने विद्यार्थीहरुको पढाइसँगै परिक्षा पनि लम्बिने निश्चित हुन्छ । जसले गर्दा विद्यालयहरुले विद्यार्थीको छुट्टीको समयलाई सदुपयोग गर्नु उत्तम हुनेछ ।
उनका अनुसार बालबालिकाहरुमा एक त सामाजिक सम्बन्ध बन्द छ भने अर्कातर्फ विद्यालयको खेलकुद समेत गर्न नपाउँदा घरमा नै गुम्सिएर बस्न बाध्य छन् । त्यसैले अनलाइन कक्षाहरु सञ्चालनमा ल्याउनु राम्रो हो ।