राहत वितरण गर्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप, चार घाइते

लहान । लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् ।

राहत लिनेको सूचीमा धनी व्यक्तिको नाम समावेश भएको भन्दै स्थानीयवासीले राहत वितरण गर्ने टोलीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर पार्न तीन राउण्ड हवाई फायर र आधा दर्जन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । झडपका क्रममा चार जना स्थानीयवासी सामान्य घाइते भएको र उनीहरूकाे स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

मिर्चैया नगरपालिका वडा नं ७ का वडाध्यक्ष रामकुमार यादवले राहत पाउनेको सूचीमा आफ्ना आसेपासेको नाम मात्रै समावेश गरी राहत वितरण गर्न थालेकाले विरोधमा उत्रेका स्थानीयवासी रामेश्वर यादवले बताए । वडाध्यक्ष यादवले मनोमानी ढङ्गले विपन्नको नामावली सङ्कलन गरेर राहत वितरण गर्न थालेको विरुद्धमा स्थानीयवासी ओर्लिएपछि प्रहरी र स्थानीयवासीबीच झडप भएको उनको भनाइ छ ।

यता वडाध्यक्ष यादवले कुनै पूर्वाग्रह नराखी निष्पक्ष तरिकाले वास्तविक विपन्न, गरिब परिवारलाई राहत वितरण गर्न खोज्दा राजनीतिरुपमा विवाद सिर्जना गर्न खोजिएको बताए । यसअघि मिर्चैया नगरपालिकाको अन्य वडामा पनि राहत वितरण गर्ने क्रममा विवाद भएको थियो ।

यस्तै सिरहाको सुखीपुर नगरपालिका– २ मा पनि राहत विरतणका क्रममा आइतबार झडप भएको थियो । वडाध्यक्ष भुपनेश्वर यादवले राहत वितरण गर्नेको सूचीमा आफ्ना आसेपासेको नाममा मात्र समावेश गरेको भन्दै राहत वितरणमा अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरी भीडलाई तितरवितर पारेको थियो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *