मेयरमाथि कुटपिट गर्ने युवासंघ जाजरकोटका संयोजक निलम्बित

काठमाडौं। राष्ट्रिय युवासंघ, नेपालले आफ्ना जाजरकोट संयोजक दीपेन्द्र शाहीलाई निलम्बन गरेको छ। जाजरकोटको भेरी नगरपालिका मेयर चन्द्रप्रकाश घर्तीमाथि कुटपिटमा संलग्न भएको आरोपमा उनलाई युवासंघले निलम्बन गरेको हो।

पार्टीका विभिन्न कमिटी र आफ्नो अन्तरिम विधानअनुसार, संगठनका सबै जिम्मेवारीबाट शाहीलाई निलम्बन गरिएको युवासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। कुटपिटको घटनाबारे छानबिन गर्न युवासंघले एक छानबिन समिति पनि गठन गरेको छ।

उक्त छानबिन समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन समेत दिइएको छ। समितिमा संघका केन्द्रीय सदस्यहरू मनोज विक, विश्वविक्रम शाह, राजन थापा, भीम रोकाय र भीम जीसी सम्मिलित छन्।

नेकपा कर्णाली प्रदेश कमिटीका सदस्यसमेत रहेका मेयर घर्तीमाथि नेकपा कर्णाली प्रदेश जेष्ठ कम्युनिस्ट मञ्चका सदस्य दिवंगत मधु चन्दको दाहसंस्कारमा सहभागी हुने क्रममा वैशाख १३ गते फेरा घाटमा आक्रमण भएको थियो। युवासंघका जाजरकोट संयोजक शाही नेतृत्वको समूहले मेयर घर्तीमाथि आक्रमण गरेको आरोप छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *