नेकपा सचिवालयमा टरेको ‘विवाद’ स्थायी समितिमा चर्किने संकेत !

काठमाडौं। स्थायी समिति बैठकको पूर्वसन्ध्यामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि असमझदारीको संकेत देखिएको छ। वैशाख २५ गते बोलाइएको स्थायी समिति बैठकमा पेश गर्ने एजेण्डामा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन। जसका कारण सहमतिको प्रस्ताव लेखन अघि बढ्न सकेको छैन।

प्रस्ताव तयार पार्ने जिम्मेवारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले पाएका छन्। शनिबार बसेको सचिवालय बैठकको सहमति र भावनाअनुसार प्रस्ताव तयार पारिने भनिएको छ। तर प्रधानमन्त्री ओली अहिलेको स्थायी समिति बैठकमा कोरोना भाइरसको महामारी र आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने गरी प्रस्ताव बनाउनु पर्नेमा जोड दिइरहेका छन्। ओली नेकपा शीर्ष नेता, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाललाई बेग्लाबेग्लै बोलाएर यस विषयमा छलफल गरेका छन्।

भेटमा ओलीले कतिपय जिम्मेवारी हेरफेरलगायत विषयलाई अहिले प्रतिवेदनमा समेटेर एजेण्डा बनाउन नसकिने, त्यसका लागि थप छलफल र अनौपचारिक गृहकार्य गर्नुपर्ने भएकाले बरु स्थायी समिति बैठक नै सार्न सकिने विकल्पसमेत प्रस्तुत गरेको प्रचण्ड-माधव समूहका एक नेताले बताए। शनिबार बसेको सचिवालय बैठकले नेतृत्व तहमा देखिएको असमझदारी र शक्तिसंघर्ष सहमतिका आधारमा टुंग्याउने निर्णय गरेको थियो।

यता प्रचण्ड-नेपाल समूह जसरी पनि स्थायी समिति बैठक बोलाउने पक्षमा छन्। शीर्ष नेताहरूले मुख थुन्न नपाउने, सरकारका कामदेखि अध्यादेश प्रकरण र त्यसपछिका परिघटनासम्ममा खुलस्त छलफल गर्न पाउनुपर्नेमा उक्त समूहका स्थायी समिति सदस्यहरुले जोड दिइरहेका छन्। मंगलबार भेला भएका २० जना स्थायी समिति सदस्यहरुले सरकारले गरेका विकृति र विसंगतिका विरुद्ध बैठकमा सशक्त रुपमा एउटै स्वरमा उठाउने निर्णय गरेका छन्।

पार्टीभित्र एक व्यक्ति एक जिम्मेवारीको विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको प्रचण्ड–नेपाल समूह स्थायी समिति बैठकको रणनीतिमा जुटेको छ। अध्यक्ष ओलीले सचिवालय बैठकमा आत्मालोचनासहित गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनको प्रस्ताव स्थायी समितिमा आउनुपर्नेमा शीर्ष नेतृत्वलाई सो समूहले दबाब दिइरहेको छ।

मुख्यतया पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने विवाद नेकपामा छ। उक्त विवादको निरूपण स्थायी समितिमा खोजिने नेताहरुले दाबी गरेका छन्। सहमतीय प्रस्ताव तयार गर्ने जिम्मेवारी पाएका प्रचण्डको अबको भूमिका कस्तो रहन्छ, स्थायी समिति बैठकमा आउने प्रस्तावले तय गर्ने विश्लेषण नेपाल समूहको छ। पछिल्लो सचिवालय बैठकमा सरकार र पार्टी सञ्चालनमा भएका कमजोरी सच्याउँदै अबदेखि गल्ती नगर्ने नेतृत्वको प्रतिबद्धतापछि तत्कालका लागि टरेको सत्तारुढ दल नेकपाभित्रको संकटको स्थायी समाधान खोज्न नेताहरु गृहकार्यमा जुटेका छन्।

विवाद एउटा निष्कर्षमा पुगेर मिलेको बताएका नेता नै फेरि सचिवालयको भावनाबाट पछि हट्न थालेको आशंका कतिपय नेताले गर्न थालेका छन्। जसको संकेत पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले समाजिक सञ्चालमा व्यक्त गरेका छन्। नेकपाको स्थायी समिति बैठक बिहीबारका लागि बोलाइएको छ। स्थायी समिति बैठकको तयारीका लागि बुधबार सचिवालय बैठक बस्दैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *