मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी, लकडाउन थपिने सम्भावना

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ। बैठक बिहान ११ बजेबाट सुरु भएको हो। आजको मन्त्रिपरिषद् बैठकमा लकडाउन लम्ब्याउनेलगायत नियमित कार्यसूचीमाथि छलफल तथा निर्णय हुने बताइएको छ।

लकडाउनको अवधि कति दिन र कुन स्वरूपमा थप गर्ने विषयमा बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। स्रोतका अनुसार लकडाउन ७ देखि १० दिन थप्ने तयारी सरकारको छ। मंगलबा बालुवाटारमा बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो।

पछिल्लो पटक थप गरिएको लकडाउन २५ गते सकिँदै छ। लकडाउन सुरु भएयता दिनहुँ जसो कोरोना सङ्क्रमित फेला पार्ने क्रम नरोकिएकाले यस पटक पनि फेरि लकडाउनको समय थप गर्न लागिएको हो। कोरोना जोखिमयुक्त क्षेत्रमा लकडाउन कडाइ गरेर कम जोखिम भएको क्षेत्रमा केही खुकुलो बनाउने भन्ने निर्णयको विकल्पबारे पनि छलफल भइरहेको छ। त्यसबाहेक कोभिड-१९ रोकथाम, उपचारमा अहिलेसम्म गरिएका कामको समीक्षा र भावी रणनीतिको बारे पनि बैठकमा छलफल भइरहेको छ।

मंगलबारसम्मको तथ्यांकअनुसार नेपालमा ८२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। जसमध्ये आज मात्र ६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। यसअघि निको भएका १६ जनामध्ये तीन जनामा फेरि कोरोना सङ्क्रमण देखिएको छ। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। छिमेकी मुलुक भारततर्फको सीमा अनिश्चित कालसम्म बन्दै राख्ने सरकारको तयारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *