कांग्रेसले बनायो अर्थतन्त्र केन्द्रित बिशेष समिति

काठमाडौं। आर्थिक क्षेत्रको अल्पकालीन र दीर्घकालीन दृष्टिकोण निर्माण गर्न नेपाली कांग्रेसले ‘अर्थतन्त्र केन्द्रित विशेष समिति’ गठन गरेको छ। पूर्व अर्थमन्त्री रामशरण महतको संयोजनकत्वमा १४ सदस्यीय समिति गठन गरेको हो।

केन्द्रीय समितिको वैशाख १७ मा सम्पन्न बैठकले देशको विविध क्षेत्रमा कोरोनाले पारेको असर बारे अध्ययन, विश्लेषण एवं देशका लागि आवश्यक दृष्टिकोण निर्माण गर्न विभिन्न समिति गठन गर्ने निर्णय गरेको थियो। सोही बमोजिम सभापति शेरबहादुर देउवाले ‘अर्थतन्त्र केन्द्रित बिशेष समिति’ गठन गरेका हुन्।

समितिमा पूर्वअर्थमन्त्री र अर्थराज्यमन्त्रीहरू, संसदीय दलमा अर्थ मन्त्रालयको संयोजन गरिरहेका एवं राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष रहेर काम गरिसकेका नेताहरू छन्। समिति सदस्यमा महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, डा. मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, डा. शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द पोख्रेल र डा. स्वर्णिम वाग्ले रहेका छन्।

समितिले तत्कालीन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालीन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारणा र दीर्घकालीन रूपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्नेछ। समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारणा र भूमिकालाई थप परिस्कृत एवं थप प्रभावकारी बनाउने जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *