तीन जनामा दोहोरियो कोरोना संक्रमण, पुनः अस्पताल भर्ना, यस्तो छ स्वास्थ्य अवस्था
काठमाडौं । आज एकैदिन उपचारपछि निकाे भएका कोरोना भाइरस (कोभिड १९) संक्रमित ३ जनाको पुनः परीक्षणमा संक्रमण दोहोरिएको पुष्टि भएको छ ।
वैशाख ११ गते डिस्चार्ज भएका काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टका ५८ वर्षीय पुरुष, वैशाख १४ गते डिस्चार्ज भएका रौतहटका १९ वर्षीय र पर्साका २४ वर्षीय पुरुषमा पुनः परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार वीरगञ्ज र पर्साका संक्रमितको नारायणी अस्पतालमा उपचार भइरहेको छ भने काठमाडौंका संक्रमितको पाटन अस्पतालमा उपचार भइरहेको छ । उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
वैशाख ८, १० र १२ गते गरिएको पीसीआर परीक्षणमा तीनैचोटि नेगेटिभ आएपछि रौतहट र पर्साका दुई पुरुषलाई १४ गते डिस्चार्ज गरिएको थियो । ५ दिनपछि फलोअपमा बोलाएर रगत र घाँटीको र्यालको नमुना लिइएको थियो । शनिबार आएको पीसीआर परीक्षणको रिपोर्टमा दुई जनामा पोजिटिभ देखिएको हो ।
त्यस्तै गत चैत ५ गते बेलायतबाट नेपाल आएका काठमाडौंका ५८ वर्षीय पुरुषमा वैशाख १ गते परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको थियो । उनी उपचारपछि निको भएर वैशाख ११ गते घर फर्किएका थिए ।