‘कोरोनाविरुद्ध विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गरोस्’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महामारीको रूप लिएको कोरोना भाइरसविरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने बताएका छन् ।

२५६४ औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा शुभकामना दिँदै उनले भनेका छन्, ‘कोरोनाविरुद्ध लड्न र विजय प्राप्त गर्न बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्दै यो महामारीको विषम परिस्थितिसँग जुझ्न मद्दत मिल्ने मैले विश्वास लिएको छु ।’

नेपालको भूमिमा जन्मेर मानव कल्याणका साथै विश्व शान्तिका लागि ठूलो योगदान दिएका बुद्धका उपदेशहरू विश्वमै लोकप्रिय रहेको प्रचण्डले उल्लेख गरेका छन् ।

‘बुद्धले विश्व मानवजातिका लागि सही ज्ञान हासिल गर्न भौतिकवादी ढंगले सत्यको तथ्यगत अन्वेषण गर्ने सूत्रहरू पहिल्याउनु भएकाले उहाँप्रति हामी सबै नेपालीले गर्व गर्न सक्छौं’ प्रचण्डद्वारा जारी शुभकामना व्यक्तव्यमा भनिएको छ ।

त्यसैगरी आज नै परेको किराँत (राई, लिम्बू, सुनुवार र याक्खा) समुदायको उभौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायमा सुख, शान्ति, समृद्धि र आपसी भाइचाराको कामना पनि गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *