सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन

काठमाडौं। संघीय सांसदहरुको आज कोरोना परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ। वर्षे अधिवेशन अघि संघीय सांसदहरुको पीसीआर विधिबाट कोरोना परीक्षण गरिन लागिएको हो। वर्षे अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ।

संघीय संसदका सबै सदस्यहरुको बिहीबार बिहान १० बजेदेखि स्वाब संकलन गर्न सुरु गरिएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए। बिहान १० बजेदेखि राष्ट्रिय सभा सदस्यहरुको र ११ बजेदेखि प्रतिनिधिसभा सांसदहरुको स्वाब संकलन गरिने संसद सचिवालयले जनाएको छ।

स्वाब संकलन संघीय संसद भवन परिसर बानेश्वरमा चलिरहेको छ। कोरोना परीक्षणको व्यवस्था संघीय संसद भवनको ल्होत्से हलमा मिलाइएको सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए। मंगलबार बसेको कार्य व्यवस्थाको बैठकले सांसदहरुको अनिवार्य रुपमा कोरोना परीक्षण गराउने निर्णय गरेको थियो।

एकै दिनमा स्वाब संकलन गरिसक्ने सचिवालयको लक्ष्य छ। सांसदहरुको परीक्षण गरिसकेपछि कर्मचारी, मर्यादापालक र पत्रकारको स्वाब संकलनको प्रवन्ध मिलाइने सूचना अधिकारी धमलाले जानकारी दिए। दुवै संसदको बैठक शुक्रबार दिउँसो ४ बजे बस्नेछ ।

बैठक स्थलमा एक सांसद र अर्को सांसदबीचमा दुई कुर्सी खाली राखिने गरी सामाजिक दूरी कायम गरिने छ। संसदमा प्रवेश गर्ने सांसदहरुले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने र ज्वरो नआएका सांसदले मात्र प्रवेश पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *