नेकपा धुम्बाराही भेलाको सन्देश, स्थायी समिति बैठक छल्न दिँदैनौं

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २० जना स्थायी समिति सदस्यहरूको भेलाले स्थायी समिति बैठक बोलाउन दबाब दिने निर्णय गरेको छ। अध्यक्षलाई दबाब दिन उक्त भेलाले स्थायी समिति सदस्य भीम रावल र जनार्दन शर्मालाई जिम्मा दिएको छ। बिहीबार ११ बजेका लागि तय भएको स्थायी समिति बैठकका एजेण्डा तय गर्न बुधवार बसेको सचिवालय बैठकमा सहमति नजुट्दा बैठक स्थगित भएको थियो।

पार्टी धुम्बाराहीमा बिहीबार भेला भएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहका स्थायी समिति सदस्यहरूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक छल्न खोजेको आरोप लगाएका छन्।

स्थायी समिति सदस्य मातृका यादवले भेला सकिएपछि भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष सुरुदेखि बैठकको पक्षमा हुनुहुन्न। उहाँले निर्णय पनि कार्यान्वयन नगर्ने, बैठकको पनि बेवास्ता गरिरहनु भएको छ। फेरि पनि आज हामी भेला भएर बैठकको माग गरेका छौँ।’

भेलामा सहभागी स्थायी समिति सदस्यहरूले अब कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरेका थिए। पार्टी कमिटीका बैठक नबस्दा सरकारको कामकारबाहीबारे उठेका प्रश्नको जवाफ दिन नसकिएको उनको भनाइ छ। ‘सरकारबारे जति पनि प्रश्न उठेका छन्। असन्तुष्टि छन्। बैठक बस्न पाए एउटा धारणा बन्थ्यो। सरकारलाई सहयोग पुग्थ्यो। बैठक नै बस्दैन,’ यादवले गुनासो गरे।

प्रचण्ड-नेपाल निकट नेताहरू एक व्यक्ति एक पदको माग राखिरहेका छन्। अध्यादेश प्रकरणपछि नेकपाभित्रको वेमेल सतहमा आएको हो। गत शनिवारको सचिवालय बैठकपछि विवाद केही शान्त भए पनि बिहीबारको सचिवालय बैठकपछि भने पुनः नेतृत्वमा असमझदारी बढेको छ।

नेकपाको अन्तरिम विधानको धारा ५९ (४) अनुसार ४० प्रतिशत सदस्यले लिखित रूपमा बैठकको माग गरेपछि १५ दिनभित्र आह्वान गर्नुपर्छ। २० जना सदस्यले वैशाख १० गते पत्र बुझाएका थिए। विधानको समयसीमा आज सकिएका कारण नेतृत्वको ध्यानाकर्षण गराइएको यादवले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *