लकडाउनले काठमाडौंमा समस्यामा परेका कालिकोटका नागरिकलाई राहत वितरण
काठमाडौं। लकडाउनले काठमाडौंमा समस्यामा परेका कर्णाली प्रदेश कालिकोटका नागरिकहरूलाई राहत वितरण गरिएको छ। तरुण दलका महामन्त्री भूपेन्द्रजंग शाही र नेपाली काँग्रेस कालिकोटका सभापति हर्षबहादुर बमको पहलमा काठमाडौंमा रहेका कालिकोटका नागरिकलाई राहत वितरण गरिएको हो।
राहत वितरणको लागि दक्षिणकाली नगरपालिका-९ का वडा अध्यक्ष अम्रिका बलामी र काँग्रेसका स्थानीय नेता राजेन्द्र खत्रीले समन्वय गरेका थिए। स्थानीय नेता खत्रीका अनुसार कालिकोटका १० परिवारलाई बिहीबार खाद्य सामग्री वितरण गरिएको हो। रोजगारी तथा व्यवसायका लागि काठमाडौं आएका कालिकोटका १० परिवार दक्षिणकालीमा बस्दै आएका छन्।
लकडाउनका कारण खाद्यान्न सामाग्री अभाव भएपछि ३० किलोको १० कट्ठा चामलसँगै अन्य खाद्य सामग्री वितरण गरिएको हो। महासचिव शाही, पार्टी सभापति बमको पहलमा राजधानीमा समस्यामा परेका कालिकोटका नागरिकहरूलाई सहयोग गर्दै आएका छन्।