नगर प्रहरी संचालनसहित चार वटा कार्यविधि पारित

  • ध्रुवराज खनाल

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकाको वोर्ड बैठकले विभिन्न ४ वटा कार्यविधि पारित गरेको छ । नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७७ सहित चार वटा कार्यविधि पारित गरेको हो ।

नगर प्रवक्ता एवम् खैरहनी ६ का वडाध्यक्ष रामशरण पाण्डेका अनुसार कार्यपालिका बैठकले नगर प्रहरी संचालन तथा व्यवस्थापन, घर बहाल कर सम्वन्धी कार्यविधि, व्यवसाय कर सम्बन्धी कार्यविधि र साझेदारीमा दुग्धजन्य उद्योग स्थापना सम्वन्धी कार्यविधि पारित गरेको छ ।

लकडाउन पछि पहिलो पटक नगर प्रमुख लालमणि चौधरीको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस संक्रमणपछि नगरपालिकाले स्थापना गरेको रोग नियन्त्रण तथा राहत कोषमा जनप्रतिनिधीहरुले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

निर्णय अनुसार नगर प्रमुखले १० हजार,उपप्रमुखले ७ हजार, वडाध्यक्षहरुले ५ हजार, कार्यपालिका सदस्यहरुले २ हजार, वडा सदस्यहरुले ५ सयका दरले सहयोग गर्ने भएका हुन् । बैठकले लकडाउन पछि वितरण राहतको खर्च समेत अनुमोदन गरेको छ ।

लकडाउन कारण ज्याला मजदुरी गरि जिवन निर्वाह गरेकाहरुको समस्यालाई मध्यनजर गर्दै दुई पटक राहत वितरण गरेको थियो । दुई पटक राहत वितरण गर्दा कुल ७२ लाख ३१ हजार ७११ रुपैया खर्च भएको कार्यपालिका सदस्य सचिव एवम् नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए ।

यस बीचमा नगरपालिकाले स्थापना गरेको राहत कोषमा जिन्सी बाहेक नगद १० लाख २४ हजार रुपैया संकलन भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । त्यस्तै राहत वितरणकै लागि बागमती प्रदेश सरकारले १२ लाख रुपैयाँ पठाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *