एम्बुलेन्स चालक सहित १२ जना क्वारेनटाइनबाट डिस्चार्ज
- ध्रुवराज खनाल
चितवन । चितवनको राप्ती नगरपालिकाको क्वारेनटाइनमा बसेका १२ जना घर फिर्ता भएका छन् । पिसिआर परिक्षणसहित क्वारेनटाइन अवधि पुरा गरि उनीहरु घर फिर्ता भएको नगरपालिकाका स्वास्थ्य प्रमुख सुरेश न्यौपानेले बताए ।
१२ जना मध्ये १० जनाको पिसिआर परिक्षण गरिएको थियो । न्यौपानेका अनुसार डिस्चार्ज भएका मध्ये १० जना व्रह्मनगर माध्यमिक विद्यालय र २ जना वुद्धशान्ती माध्यमिक विद्यालयको क्वारेनटाईनमा बसेका थिए । वुद्धशान्ती माध्यमिक विद्यालयको क्वारेनटाइनमा रहेकाहरु कोरोना संक्रमितहरुको सम्पर्कमा थिए ।
बेलायतबाट आएका राप्ती ८ का आमा छोरामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु मध्ये छोरालाई निको भईसकेको छ भने आमाको कोरोना रिपोर्ट लगातार पोजेटिभ आईरहेको छ । उनको भरतपुर अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ । कोरोना संक्रमित आमा छोरालाई अस्पताल सम्म पुर्याएको एम्वुलेन्सका चालक पनि व्रह्मनगर माविको क्वारेनटाईनमा थिए । एम्वुलेन्स समेत सोही क्वारेनटाइनमा थियो ।
पिसिआर परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि चालक सहित १० जनालाई शुक्रबार डिस्चार्ज गरिएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगावहादुर भुजेलले बताए । सो क्वारेनटाईनमा अब एक जना बाँकी छन् । उनी पछि आएकाले समयावधि पुरा गर्न बाँकी छ ।
यता वुद्धशान्ती माविको क्वारेनटाईनमा रहेका ६ जना मध्ये २ जना शुक्रबार घर फिर्ता भएका छन् । ४ जनाको समयावधि पुरा हुन बाँकी छ । शुक्रबार डिस्चार्ज भएकाहरुलाई एक साता घरमै क्वारेनटाईनमा वस्न भनिएको प्रमुख प्रशासकीय अधिकृत भुजेलले बताए ।
राप्ती नगरपालिका उपमेयर इमानसिंह लामाले कोरोनाको संक्रमणपछि विदेश तथा स्वदेशका विभिन्न जिल्लाबाट आएकाहरुलाई सुरक्षित राख्नका लागि बुद्धशान्ती र व्रह्मनगर माविमा क्वारेनटाईन बनाईएको बताए । क्वारेनटाईनमा नगरले खान बस्नको व्यवस्था मिलाएको लामाले वताए । दुवै क्वारेनटाईनमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी खटिएका छन् ।