धरानमा प्रहरीले नियन्त्रणमा लियो रक्सी बोकेको टेम्पो

  • भरतराज शर्मा (गाेपाल)

सुनसरी । ईलाका प्रहरी कार्यालय धरानको गस्ती टोलीले जारी लकडाउनको उल्लंघन गर्ने टेम्पोलाई रक्सीसहित नियन्त्रणमा लिएको छ । त्यहाँको प्रहरी टोलीले आज (आईतबार) बिहान धरान उपमहानगरपालिका वडा नम्बर ३ बाट टेम्पोमा लुकाई ल्याउँदै गरेको घरेलु मदिरा (रक्सी) सहित टेम्पोलाई नियन्त्रणमा लिएको हो ।

बिहान करिब साढे ५ बजे चिनियाँ चोकमा चालकले गस्ती टोलीलाई देखेपछि बाटोमा नै टेम्पो छोडेर भागेका थिए । चालक भागेपछि त्यहाँ खटिएको प्रहरी गस्ती टोलीले को १ ह ७९६० नम्बरको ट्याम्पोसहित त्यसमा लोड रहेको घरेलु मदिरा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

उनका अनुसार प्रहरीले शंका लागेर टेम्पो चेकजाँच गर्दा पछाडी सिट नजिक खाली ठाउँमा ८ वटा जारमा घरेलु मदिरा फेला पारेको थियो । ८ वटा जारमा करिब एक सय लिटर मदिरा रहेको उनले जानकारी दिए ।

नियन्त्रणमा लिइएको मदिरा र ओसारपसार गर्ने टेम्पोलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय धरान पठाइएको छ भने फरार रहेका चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै लागुऔषध खरिद गर्न धरानबाट गएका दुई युवकसहित तीन जनालाई प्रहरीले ठुलो परिमाणको लागु औषधसहित सुनसरीको भोक्राहाबाट पक्राउ गरेको छ ।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ नहरचोकबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोक्राहा नरसिंह गाउँपलिका ३ का राज कुमार मण्डल रहेका छन् भने उनीसँग लागुऔषध खरिद गर्न पुगेका धरानका ८ का २७ बर्षीय अजय श्रेष्ठ र अर्जुन कार्की रहेका छन् ।

प्रहरीले मण्डलको साथबाट ३ हजार ८ सय ४० क्याप्सुल ट्रोमाडोल र ४ बोतल डाईलक्स डिसी बरामद गरेको छ भने १६ हजार ७ सय रुपैयाँ नगद र १ थान मोबाइल पनि बरामद गरको छ ।

यस्तै, धरानका अजय र अर्जुनको साथबाट ५७ हजार ५ सय १० रुपैयाँ नगद र २ थान मोबाइलका साथै अन्य सामग्रीहरु समेत बरामद भएको छ । उनीहरु लागुऔषध खरिद गर्नका २२ प ७३५३ नम्बरको मोटरसाईकल सहित पुगेका थिए । पक्राउ परेका तीनै जनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *