बेच्न लैजाँदै गरेको आशंकामा २ युवकसहित ४ जना पक्राउ

  • भरतराज शर्मा (गोपाल)

सुनसरी । लकडाउनका बेला मोटरसाइकलको पास बनाएर लहानमा काम दिलाई दिने भनि झुक्याएर  बेचिन लागेका दुई किशोरीको उद्धार गरिएको छ । बेच्न लैजाँदै गरेकाे अवस्थामा शनिबार चतराको कोशी पुलबाट सशस्त्र प्रहरी बलले दुवै किशोरीको उद्धार गरी जनकपुर–७ का ललन मण्डल र महेशप्रसाद यादवलाई नियन्त्रणमा लिएकाे छ ।

पक्राउ परेका दुवै मानव बेचबिखनमा संलग्न भएको हुन सक्ने चतरास्थित सशस्त्र प्रहरी बलका प्रमुख असोक न्यौपानेले बताए । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा बुझाइएको छ ।

उद्धार गरिएका दुई किशोरी धरान–११ की १४ र १७ वर्षका छन् । उनीहरुलाई लहान जाने भन्दै जनकपुर लैजान लागेको  खुलेपछि दुवै किशोरीलाई झुक्याएर बेचबिखनका लागि लैजान लागेको आशंकामा किशारीहरुको उद्धार गरी दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी प्रमुख न्यौपानेले जानकारी दिए । उनले भने, ‘यो घटनाले अहिले देशमा लकडाउनको बेला सवारीको पास देखाएर मानव बेचबिखन गर्ने अपराधीहरु सक्रिय रहेको देखिएको छ ।’

दुई किशोरीमध्ये एउटाको आमा र अर्को आफ्नै दिदिले जागिरका लागि लैजान दिएको बुझिएको छ । सशस्त्र प्रहरीका अनुसार ललन मण्डलका साथ ज १ प ८४८५ नम्बर मोटरसाइकलमा धरानदेखि ३ जना आएका थिए । धरानबाट चतरा हुँदै लहान जाने भनि हिँडेका उनीहरूलाई सशस्त्र प्रहरी बल चतराको एउटा चेकपोस्टबाट तीव्र गतिमा भागेपछि भण्डारीटारस्थित दोस्रो चेकपोस्टले रोकेर चेकजाँच गर्दा पक्राउ गरेकाे हाे ।

चेकपोष्टमा जाँच गर्दा ललन मण्डलले लहानकाे एनसीसी बैंकको पास देखाएका थिए । उनलाई एउटा मोटरसाइकलमा किन तीन जना हिँडेको भनि सोधपुछ गर्दा मेरो साउको छोरीहरु धरानमा बुबा बिरामी भेटेर आएको भनि बताएका थिए । आमा अझै हस्पिटलमा भनेपछि सशस्त्र प्रहरी निरिक्षक न्यौपानेले आमाको मोबाइल नम्बरमा फोन गरी कुराकानी गर्दा ‘म अहिले बारीमा छु’ भन्दै गोल मटोल जवाफ दिइ फोनै काटिदिएपछि शंका लागेकाले थप केरकार गरेका थिए ।

थप केरकार गर्दा ललनले आफू बैंकको ड्राइभर भएको बताए । सोधपुछकै क्रममा उनको कुरा फरक पर्दै गएपछि शंका बढेकाले थप सोधपुछ गर्न नियन्त्रणमा लिएर सशस्त्रकाे बेस क्याममा लगियो । बेसट क्याममा सशस्त्र प्रहरी प्रमुख न्यौपानेले सोधपुछ गर्दा किशोरीहरुले उनीहरुलाई पुलिसले सोधपुछ गर्याे भने मेरो घर लहान भएको बताउनु भनि ललनले भन्न लगाएको खुलासा गरे ।

उनीहरुले आमाले लकडाउन भरी काम गर्नु लकडाउन सकेपछि घर आउनु भनेर पठाएको पनि प्रहरीलाई बयान दिए । उनीहरुलाई आमाले लहान हस्पिटलमा महिनामा ६ हजारको दरले तलब दिन्छ भनि काम गर्न पठाएको बताउँदै किशोरीहरुले ‘अहिले आएर बुझ्दा हामिलाई आफ्नै आमाले नराम्रो मान्छेसँग पठाएको महसुस भएको छ’ भनेको सशस्त्र प्रहरी निरीक्षक न्यौपानेले बताए ।

ललनलाई सोधपुछ गर्ने क्रममा उनको मोबाइलमा पटक(पटक रिङ बजेको थियो । ललनलाई साउण्ड खुला गरेर फोन रिसिभ गर्न लगाएपछि उताबट ‘केटि लिएर कहाँ आइपुगिस् ?’ भन्दै फोन गरेको सुनियो । सशस्त्रकाे अनुसन्धानकै क्रममा लहानबाट २ वटा मोटरसाइकल आएको देखियो ।

एउटा मोटरसाइकल रामपुरतिर बिग्रिएको र ग्यारेजमा मर्मत गर्न बसेका थिए । महेशप्रसाद यादवले ललनलाई फोन गर्दै कहाँ आइपुगिस् भनेर सोधेपछि उनले  ‘म चतरा आइपुगेको छु’ भने । लगत्तै महेशले उनि कोशीपुलमा भएको बताए । सशस्त्रको टाेलीले कोशी पुल पुगेर महेशलाई पनि पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *